स्टार खेलाडीले भरिएको पिएसजीको नियति दोहोरियो, फेरि अन्तिम १६ बाटै बाहिरियो
काठमाडौँ– स्टार खेलाडीले भरिएको फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)को नियति दोहोरिएको छ । युइएफए च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको दाबेदार मानिएको पिएसजी फेरि अन्तिम १६ बाटै बाहिरिएको छ ।
पिएसजीलाई पराजित गर्दै जर्मन क्लब बायर्न म्युनिख क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
गएराति भएको दोस्रो लेगमा पिएसजीले घरेलु टोली बायर्नलाई २–० ले नतिजा सुम्पिँदै समग्रमा ३–० ले पराजित हुँदै प्रि–क्वाटरफाइनलबाटै बाहिरिन पुग्यो ।
घरेलु मैदान एलिएन्ज एरिनामा भएको दोस्रो लेगमा बायर्नको जितमा एरिक मोटिङ र सर्जी जिनाब्रीले गोल गरे । दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो ।
६१औँ मिनेटमा मोटिङले गोल गर्दै बायर्नलाई १–० को अग्रता दिलाए ।
त्यसपछि ८९औँ मिनेटमा जिनाब्रीले गोल गर्दै बायर्नको २–० को जित पक्का गर्दै टोलीलाई क्वार्टरफाइनलमा पुर्याए ।
पिएसजीले बल आफ्नो नियन्त्रणमा राख्दै खेलमा फर्कने प्रयास गरेको थियो । तर, कुनै गोल निकाल्न सकेन र पराजित हुँदै नकआउट चरणको सुरुवातमै प्रतियोगिताबाट बाहिरिन पुग्यो ।
पिएसजी स्टार खेलाडीले भरिएको क्लब हो । यस फ्रेन्च क्लबमा लियोनल मेसी, नेइमारदेखि लिएर युवा सनसनी केलियन एम्बाप्पेसम्म आबद्ध छन् । चोटका कारण ब्राजिली फरवार्ड नेयमार भने बायर्नविरुद्ध उत्रिएनन् । उनले यो पूरै सिजन गुमाउने भएका छन् ।
नेइमारविना पनि पिएसजीमा स्टार खेलाडिएको कुनै कमी छैन । यद्यपि, पिएसजी पछिल्ला ७ मध्ये ५ पटक प्रि–क्वार्टरफाइनलबाटै बाहिरिन पुगेको छ । अघिल्लोपटक पनि पिएसजी स्पेनिस क्लब रियल म्याड्रिडको हातबाट अन्तिम १६ बाटै बाहिरिएको थियो । यो निकै अप्रत्यासित नतिजा थियो ।
यो पटक पनि पिएसजी उस्तै अवस्थाबाट गुज्रिएको छ।