मिलान ११ वर्षपछि च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा
काठमाडौँ– इटालियन क्लब एसी मिलान युइएफए च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
इंग्लिस क्लब टोटनहम हटस्परलाई पराजित गर्दै मिलान ११ वर्षपछि च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा पुगेको हो ।
गएराति घरेलु टोली टोटनहमलाई गोलरहित बराबरीमा रोकेपछि समग्रमा १–० को जित निकाल्दै मिलानले अन्तिम ८ मा स्थान बनाएको हो ।
यसअघि घरेलु मैदानमा भएको पहिलो लेगमा मिलानले टोटनहमलाई १–० ले पराजित गरेको थियो ।
मिलान सन् २०११–१२ को सिजनमा क्वार्टरफाइनलमा पुगेको थियो । सो बेला मिलान स्पेनिस क्लब बार्सिलोनासँग समग्रमा ३–१ ले पराजित हुँदै बाहिरिएको थियो ।
त्यसयता ७ पटकको विजेता मिलानले क्वार्टरफाइनलसम्मको यात्रा पनि तय गर्न सकेको थिएन ।
गएराति नै भएको अर्को खेलमा फ्रन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)लाई पाखा लगाउँदै जर्मन क्लब बायर्न म्युनिखले अन्तिम ८ मा स्थान बनाएको छ ।
सिफारिस