टिपरको ठक्करबाट पत्रकार श्रेष्ठको निधन
काठमाडौँ– सडक दुर्घटनामा परेर पत्रकार पवनलाल श्रेष्ठको निधन भएको छ । राष्ट्रिय समाचार समिति (रासस)का पूर्वसमाचारदातासमेत रहेका उनको गएराति कठमाडौँको शङ्खरापुर नगरपालिका साँखुस्थित इन्द्रायणीमा टिपरको ठक्करबाट ज्यान गएको हो । उक्त दुर्घटनामा अर्का एक व्यक्तिको समेत मृत्यु भएको छ ।
गएराति साँखु–जोरपाटी सडकखण्डमा साँखुबाट ब्रह्मखेल जाँदै गरेको बा५ख २४१४ नम्बरको टिपरले विपरीत दिशाबाट आउँदै गरेको बा९४प ४४९८ र बा८२प ८३५७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुवैजनाको मृत्यु भएको हो ।
दुर्घटनामा शङ्खरापुर नगरपालिका–७ साँखुका ५० वर्षीय पत्रकार श्रेष्ठ र सोही नगरपालिका–९ का २२ वर्षीय हरि खड्काको मृत्यु भएको हो । दुर्घटनामा घाइते पत्रकार श्रेष्ठको नेपाल मेडिकल कलेज अत्तरखेलमा तथा खड्काको शङ्करापुर अस्पताल साँखुमा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिनुभयो ।
दुर्घटनामा २० वर्षीया पुनम श्रेष्ठ घाइते भएकी छिन् । उनको धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचार भइरहेको प्रवक्ता रिजालले बताए । मृतक श्रेष्ठ साँखुबाट प्रकाशित लावण्य सन्देश साप्ताहिकका प्रधान सम्पादक थिए । उनी नेपाल प्रेस युनियन साँखु शाखाका संस्थापक अध्यक्षसमेत हुन् ।
दुर्घटनापछि फरार टिपर चालक २६ वर्षीय दिनेश तामाङलाई प्रहरीले राति नै सिन्धुपाल्चोकबाट पक्राउ गरी काठमाडौँ ल्याएको छ । घटनाबारे प्रहरी वृत्त गौशालाले अनुसन्धान गरिरहेको प्रवक्ता रिजालले बताए ।