देशको अवस्था चुनौतीपूर्ण छ, सबै एक ठाउँमा उभिनुपर्छ : नेम्बाङ
काठमाडौँ– नेकपा एमालेबाट राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्बाङले देश र जनताका अगाडि ठुलो चुनौती रहेकाले सबै एक ठाउँमा उभिनुपर्ने बताएका छन् ।
बिहीबार संसद् भवनमा राष्ट्रपतिका लागि मतदान गरेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताए ।
उनले आफू राष्ट्रपतिमा निर्वाचित भए जनताको राष्ट्रपति बनेर जनताको काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
राष्ट्रपतिको सवारीमा विवाद आइरहेको बारेमा सवारीमा निस्किँदा जनताले आफ्नो परिवारको सदस्य आयो भन्ने अनुभूति दिलाउने उनले बताए । उनले देशको परिस्थिति कठिन रहेकाले सबै एक ठाउँमा उभिनुपर्ने धारणा राखे ।
उम्मेवार नेम्बाङले राष्ट्रपति निर्वाचनका लागि आफू उत्साहित रहेको पनि बताए ।
प्रकाशित मिति: बिहीबार, फागुन २५, २०७९ ११:२९
प्रतिक्रिया दिनुहोस्