Nic Ad Nic Ad
Nic Ad Nic Ad

९ हजार पर्यटक ढोरपाटन पुगे

बिहीबार, फागुन २५, २०७९

बाग्लुङ–यस वर्ष ९ हजार पर्यटक ढोरपाटन पुगिसकेका छन् । पर्यटकीय गन्तव्य ढोरपाटन घुम्न आउने पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ ।  

चालु आर्थिक वर्ष २०७९/८० को फागुन तेस्रो सातासम्म ९ हजारभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक ढोरपाटन भ्रमणमा आइसकेको ढोरपाटन शिकार आरक्षका सूचना अधिकारी मन्दिप पङ्गेनीले जानकारी दिए । नेपालको एकमात्र शिकार आरक्ष क्षेत्र अवलोकनका लागि आउने विदेशी तथा स्वदेशी पर्यटकको सङ्ख्यामा बर्सेनि वृद्धि हुँदै गएको छ ।  

ढोरपाटन क्षेत्रमा बर्सेनि पर्यटकको सङ्ख्यामा वृद्धि हुँदा शिकार आरक्ष कार्यालयको राजस्वमा समेत उल्लेख्य वृद्धि भएको हो । ढोरपाटन शिकार आरक्षले विदेशी तथा नेपाली पर्यटकको आगमनको तथ्याङ्कलाई व्यवस्थित गर्दैगएको छ । गत आवमा ६ हजार बढी जनाले ढोरपाटनको अवलोकन गरेकामा चालु आवको अन्त्यसम्म त्यो संख्या बढेर दोब्बर पुग्ने देखिएको छ । 

ढोरपाटन शिकार आरक्षको तथ्यांकअनुसार आरक्ष अवलोकनका लागि आउने पर्यटकको संख्यामा वृद्धि भएको छ । कुनै दिन ढोरपाटनमा शिकार खेल्न मात्रै पर्यटक आउने गरेकामा पछिल्लो समय शिकार आरक्ष क्षेत्र अवलोकन, ढोरपाटन उपत्यका, निशेलढोर र ढोर वराम मन्दिर अवलोकनका लागिसमेत पर्यटक आउने गरेका छन् । 

विदशी शिकारी शिकार खेल्नका लागि हेलिकप्टरमार्फत सोझै आरक्ष क्षेत्रमा पुग्ने गरे पनि सडकको पहुँच, होटेल सुविधा तथा प्रचारप्रसारसँगै आन्तरिक तथा बाह्य पर्यटक घुम्नका लागिसमेत त्यहाँ पुग्न थालेका छन् । वैधानिकरूपमा नाउर र झारलको शिकार खेल्न पाइने आरक्ष क्षेत्र प्रवेशमा नेपाली र बाह्य पर्यटकले प्रवेश शुल्क तिर्नुपर्छ । सूचना अधिकारी पङ्गेनीका अनुसार आरक्षमा पुग्ने विदेशी पर्यटकको मात्रै तथ्यांक राख्दै आएकामा २ वर्षदेखि आन्तरिक पर्यटकको पनि तथ्यांक राख्न थालिएको छ ।
 

प्रकाशित मिति: बिहीबार, फागुन २५, २०७९  १३:१८
प्रतिक्रिया दिनुहोस्