Nic Ad Nic Ad
Nic Ad Nic Ad

ब्याजदर घटाउने बैंकर्स संघको निर्णय

बिहीबार, फागुन २५, २०७९

काठमाडौँ– वाणिज्य बैंकहरूले आगामी चैतमा ब्याजदरमा सामान्य परिवर्तन गर्दै घटाउने भएका छन् । आज बसेको वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरूको छाता संगठन नेपाल बैंकर्स संघको बैठकले आगामी चैतमा कर्जा र निक्षेपकोे ब्याजदर घटाउने निर्णय गरेको हो ।

आगामी चैत १ गतेदेखि निक्षेपमा शुन्य दशमलव चार प्रतिशत र कर्जामा एक प्रतिशत प्रिमियम दर घटाउने निर्णय भएको संघका अध्यक्ष सुनिल केसीले जानकारी दिए । उनले आफूहरु ऋणको ब्याजदर क्रमशः घटाउनमा केन्द्रित भएको बताए ।

हाल बैंकहरूले आधारदरमा ६ प्रतिशतसम्म प्रिमियम लिने गरेका थिए । अब १ प्रतिशत घटेपछि आधारदरमा ५ प्रतिशतसम्म प्रिमियम दर तोक्नेछन् । 

यस्तै, निक्षेपतर्फको साधारण बचतमा न्यूनतम ६ प्रतिशतदेखि अधिकतम आठ प्रतिशतसम्म ब्याज दिनेछन् । यसअघि साधारण बचतमा न्यूनतम ६ दशमलव ४२ प्रतिशतदेखि अधिकतम आठ दशमलव ४२ प्रतिशतसम्म ब्याजदर तोकिएको थियो ।

मुद्दति निक्षेपको ब्याजदर भने स्थिर राखिएको छ । हाल बैंकहरूले मुद्दति निक्षेपमा ११ प्रतिशत ब्याज दिइरहेका छन् । यस्तैगरी, संस्थागततर्फ नौ प्रतिशत र रेमिट्यान्स मुद्दति खातामा १२ प्रतिशत ब्याजदर तोकिएको छ ।

उद्योगी व्यवसायी तथा निजी क्षेत्रका प्रतिनिधिमूलक संघ संस्थाले तत्काल बैंक तथा वित्तीय संस्थाको ब्याज घटाउनुपर्ने माग गर्दै आएका छन् । चौतर्फी दबाब बढेपछि बैंकर्स संघले सामान्य अंकले मात्रै ब्याजदर घटाउने निर्णय गरेका हुन् । -रासस

प्रकाशित मिति: बिहीबार, फागुन २५, २०७९  १३:२५
प्रतिक्रिया दिनुहोस्