चैतदेखि बैंककोे ब्याजदर घट्ने
काठमाडौँ – नेपाल बैंकर्स संघले १ चैतदेखि वाणिज्य बैंकहरूको ब्याजदर घटाउने निर्णय गरेको छ ।
बैंकर्स संघको बिहीबार बसेको बैठकले वाणिज्य बैंकहरूले लिँदै आएको निक्षेप र कर्जाकै ब्याजदर घटाउने निर्णय गरेको हो ।
बैंकर्स संघका अध्यक्ष सुनिल केसीका अनुसार कर्जाको ब्याजदर शून्य दशमलव ४२ प्रतिशतले घटाउने निर्णय गरिएको हो ।
त्यस्तै, बेस रेटमा बैंकहरूले ५ प्रतिशत मात्र प्रिमियम लिन पाउने भएका छन् । हाल वाणिज्य बैंकहरूले साधारण निक्षेपमा ६ दशमलव ४२ प्रतिशतदेखि ८ दशमलव ४२ प्रतिशतसम्म ब्याजदर प्रदान गरिरहेका छन् । मुद्दती निक्षेपमा १२ दशमलव ४१ प्रतिशतसम्म ब्याज दिइरहेका छन् ।
यता कर्जातर्फ भने बैंकहरूले ११ दशमलव ५ प्रतिशत हाराहारीको बेस रेटमा ६ प्रतिशतसम्म प्रिमियम थपेर ब्याज लगाइरहेका छन् । तर, अब भने ६ प्रतिशतको प्रिमियममा १ प्रतिशत घटाएर कर्जाको ब्याजदर निर्धारण गर्ने तयारी बैंकहरूले गरेका हुन् ।
यससँगै चर्को ब्याजले समस्यामा परेका ऋणीहरूमा चैतदेखि केही राहत मिल्ने भएको छ ।
बैंकहरुसँग भएको कुल निक्षेपमा बचत खातामा भएको निक्षेपको हिस्सा २६ प्रतिशत छ । जसकारण बचतमा ब्याजदर घटाउने निर्णयले बैंकहरुको आधार दर र कर्जाको ब्याजदर घट्छ । मुद्दती निक्षेपमा भने फागुनकै ब्याजदर यथावत रहने छ ।