Nic Ad Nic Ad
Nic Ad Nic Ad

चामल र कन्टेनर महिनादिनदेखि भन्सारमै

बिहीबार, फागुन २५, २०७९

बाँके –विश्व खाद्य कार्यक्रमले नेपाल–भारत नेपालगन्ज जमुनाह नाकाबाट ल्याउन लागेको ५४ हजार किलो चामल गुणस्तरहीन भएको भन्दै नेपालगञ्ज भन्सार कार्यालयले रोकेर राखेको छ ।

समुद्री मार्ग हुँदै इटलीबाट ल्याइएको चामल भारतको कलकत्ताबाट ३ कन्टेनरमा नेपालगन्जसम्म ल्याइँदै थियो । चामल लिएर १५ माघमा नाकामा आइपुगेका डब्लुबी ०३ डिओ १०७, डब्लुबी ११ सी ५९६० र एनएल ०१ एडी ७१०५ नम्बरका भारतीय कन्टेनर १ महिनादेखि नेपालगन्ज भन्सार कार्यालयमा थन्किएका छन् ।

प्रज्ञापनपत्र नम्बर २२१५ बाट ल्याइएको चामल कर्णाली र सुदूरपश्चिम प्रदेश अन्तर्गतका विद्यालयमा बालबालिकालाई दिवा खाजा खुवाउन ल्याइएको बताइएको छ । नाकामा पुगेपछि गुणस्तर जाँच गर्न चामलको नमूना खाद्य आयात–निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय नेपालगन्ज पठाइएको थियो । प्रमाणीकरण कार्यालयले परीक्षण गर्दा चामल भिजेको, गन्ध आएको र खान अयोग्य रहेको प्रतिवेदन बुझाएपछि नाकामै रोकेको नेपालगन्ज भन्सार कार्यालयका सूचना अधिकारी डिल्लुप्रसाद शर्माले बताए ।

उनले भने, ‘गुणस्तर प्रमाणीकरण कार्यालयले चामल गुणस्तरहीन भनेर रिपोर्ट दिएपछि नियम अनुसार उक्त चामल भित्रिन दिन नमिल्ने भएकाले रोकेका हौं’, भन्सारले चामल भित्रिन नदिएपछि कन्टेनर भन्सारमै थन्किएका छन् । विश्व खाद्य कार्यक्रमले खाद्यान्न वितरण गर्ने नाममा पटकपटक कुहिएको खाद्यान्न वितरण गर्ने गरेको गुनासो आएको छ ।

यसअघि २०७२ सालमा बाँकेको खजुरास्थित विश्व खाद्य कार्यक्रमको गोदाममा भण्डारण गरेर राखिएको पाँच सय १४ मेट्रिक टन दाल कुहिएको अवस्थामा फेला परेको थियो ।

प्रकाशित मिति: बिहीबार, फागुन २५, २०७९  १४:४०
प्रतिक्रिया दिनुहोस्