रामचन्द्र पौडेल : १५ वर्षको उमेरदेखि राजनीतिमा, ७९ वर्षमा राष्ट्रप्रमुख
काठमाडौँ– रामचन्द्र पौडेल नेपालको तेस्रो राष्ट्रपति भएका छन् । आज भएको राष्ट्रपति निर्वाचनमा अर्का पत्यासी सुवासचन्द्र नेम्बाङलाई पराजित गर्दै पौडेल चौथो कार्यकालका लागि राष्ट्रपति बनेका हुन् । बिहीबार भएकाे चुनावमा पौडेलले ३३ हजार ८०२ मतभार पाए ।
नेपालमा यसअघि ३ कार्यकालका लागि २ जना राष्ट्रपति भइसकेका छन् । २०६२/६३ को दोस्रो जनआन्दोलन सफल भएपछि नेपालमा गणतन्त्र स्थापना भएको थियो ।
गणतन्त्र स्थापना भएपछि २०६५ साल साउनमा पहिलो पटक राष्ट्रपतिको निर्वाचन भएको थियो । साउन ६ गते भएको दोस्रो निर्वाचनबाट नेपाली कांग्रेसका उम्मेदवार डा. रामवरण यादव राष्ट्रपति निर्वाचित भए ।
दोस्रो संविधानसभाले २०७२ सालमा संविधान जारी गरेपछि ११, कात्तिक २०७२ मा दोस्रो कार्यकालका लागि राष्ट्रपतिको निर्वाचन भयो । सो निर्वाचनमा एमालेकी उम्मेदवार विद्यादेवी भण्डारी निर्वाचित भइन् ।
संविधान जारी भएसँगै राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनसम्बन्धी ऐन बन्यो । सोही ऐनको व्यवस्थाअनुसार २०७४ साल फागुन २९ गते तेस्रो पटक राष्ट्रपतिको निर्वाचन भयो । सो निर्वाचनमा पनि विद्यादेवी भण्डारी नै दोहोरिइन् । भण्डारीको कार्यकाल फागुन २८ गते सकिँदै छ ।
नयाँ कार्यकालका लागि भएको निर्वाचनमा पौडेल निर्वाचित भएका हुन् । नेपालको संविधानले राष्ट्रपतिलाई राष्ट्र प्रमुख मानेको छ ।
कम्तीमा ५ वर्षका लागि राष्ट्रपतिमा निर्वाचित पौडेलको राजनीतिक जीवन भने १५ वर्षको उमेरदेखि नै सुरु भएको हो । २००१ साल असोज २९ गते तनहुँको साविक मिर्लुङ, बाहुनपोखरामा जन्मिएका पौडेल आफ्नो जीवनको ७९ वर्षमा राष्ट्र प्रमुख बन्न सफल भएका हुन् ।
व्यक्तिगत जीवन
नवनिर्वाचित राष्ट्रपति पौडेलको जन्म २००१ असोज २९ गते शनिबार भएको हो । ऋषिमाया र दुर्गाप्रसादका छोरा पौडेलका ४ छोरी (शर्मिला, संज्ञा, अनुज्ञा, अवज्ञा) र १ छोरा (चिन्तन पौडेल) छन् । रामचन्द्रकी पत्नीको नाम सविता पौडेल हो ।
मध्यम वर्गीय किसान परिवारमा जन्मेका पौडेलको स्थायी बसोबास तनहुँको व्यास नपा–८, बेलथुम्की हो । उनी अहिले काठमाडौँ महानगरपालिका–१६ बोहोराटारमा बस्छन् । उनले २०२४ सालमा संस्कृत साहित्यमा शास्त्री गरेका थिए भने २०२७ सालमा नेपाली साहित्यमा स्नातकोत्तर गरेका छन् ।
राजनीतिक संलग्नता
नवनिर्वाचित राष्ट्रपति पौडेल १५ वर्षको उमेरदेखि नै राजनीतिमा संलग्न थिए । उनकै पहलमा २०१६ सालमा पोखरामा हिमालयन छात्र संघ स्थापना भएको थियो ।
उनी पोखरा विन्ध्यवासिनी पाठशालामा अध्ययन गर्दै गर्दा २०१७ साल जेठ/असारमा नेपाल संस्कृत छात्र संघको काठमाडौँ अधिवेशनमा प्रतिनिधि भएर आएका थिए ।
२००७ सालमा आएको प्रजातन्त्र २०१७ सालमा तत्कालीन राजा महेन्द्रले अपहरण गरे । महेन्द्रले २०१७ पुस १ गते जननिर्वाचित संसद् भंग गरी प्रधानमन्त्री बिपी कोइरालालगायत नेतालाई जेलमा राखे ।
किशोर अवस्थाका भए पनि पौडेल राजा महेन्द्रको सो कदमको विरोध गर्दै प्रजातान्त्रिक आन्दोलनमा सहभागी भए ।
उनले नन्दी रात्रि माविबाट एसएलसी उत्तीर्ण गरेका हुन् । र, पौडेलले नन्दी रात्रि मावि विद्यार्थी संघ स्थापना गरी संस्थापक अध्यक्ष पनि बने । योसँगै पौडेल रानीपोखरी मावि विद्यार्थी संघको अध्यक्षसमेत भएका थिए ।
पौडेलको पारिवारिक स्रोतले दिएको जनकारीअनुसार जुद्धोदय हाइस्कुलमा विभिन्न २२ विद्यालयका विद्यार्थीको भेला गराई स्वतन्त्र विद्यार्थी युनियनको माग गर्दै त्यससम्बन्धी आन्दोलनको नेतृत्व पनि पौडेलले गरेका थिए ।
उनले २०१९ सालमा नेपाल संस्कृत विद्यार्थी संघको संगठनमा सचिवको हैसियतमा काठमाडौँ उपत्यकामा आन्दोलन चलाए । यसरी आन्दोलन गर्दा २०१९–२० सालमा उनी गिरफ्तार भए । २०२०–२१ सालमा राष्ट्रव्यापी स्वतन्त्र विद्यार्थीले आन्दोलन चर्कायो । सो आन्दोलनमा पनि पनि पौडेल गिरफ्तार भए । ।
प्रजातान्त्रिक आन्दोलनमा सक्रिय रूपमा लागिसकेका पौडेल २०२३ सालमा गण्डकी छात्र संघको संस्थापक अध्यक्ष बने । सोही वर्ष उनी सरस्वती कलेज स्वतन्त्र विद्यार्थी युनियनको सभापति निर्वाचित भएका थिए भने २०२४ सालमा प्रजातान्त्रिक समाजवादी युवा संघको संस्थापक महासचिव भए ।
नेपाल विद्यार्थी संघको स्थापनामा मुख्य भूमिका निर्वाह गरेका पौडेल २०२७ सालमा नेपाल विद्यार्थी संघको संस्थापक सदस्य बने ।
नेपालको राजनीति जनमतसंग्रहको नजिक पुग्न लाग्दा पौडेल विद्यार्थी राजनीतिबाट नेपाली कांग्रेसको राजनीतिमा पुगिसकेका थिए । उनी २०३४ सालमा नेपाली कांग्रेस तनहुँको सदस्य भए ।
२०३६ सालमा पार्टीको जिल्ला उपसभापति बने । पौडेल २०३७ सालमा जनमतसङ्ग्रहको सिलसिलामा बहुदलीय व्यवस्थाको प्रचारप्रसार गर्न गठित नेपाली कांग्रेस तनहुँ समितिको संयोजक बने ।
निरंकुश पञ्चायती व्यवस्थाविरुद्ध लडेर राजनीति गरिरहेका पौडेल २०४० सालमा नेपाली कांगे्रस केन्द्रीय सदस्य तथा प्रचार विभाग प्रमुख भए । २०४३ सालमा फेरि केन्द्रीय सदस्य बनेका पौडेल निरन्तर केन्द्रीय सदस्य रहँदै २०६२ देखि २०६४ सालसम्म नेपाली कांग्रेसको केन्द्रीय महामन्त्री बने । २०६४ सालदेखि २०७२ सालसम्म भने उनी नेपाली कांग्रेसको केन्द्रीय उपसभापति बने ।
पौडेल २०६४ सालदेखि २०७० सालसम्म नेपाली कांग्रेसको संसदीय दलको नेता पनि बने । सोही समयमा उनी प्रधानमन्त्री बन्नका लागि प्रतिस्पर्धामा उत्रिएका थिए । तर, माओवादीले पौडेलको पक्ष वा विपक्षमा मतदान नगरी संसद् अड्काउँदा उनी प्रधानमन्त्रीमा निर्वाचित हुन पाएनन् ।
२०४३ देखि नेपाली कांग्रेसको निरन्तर केन्द्रीय सदस्य बनेका पौडेल उपसभापति हुँदै २०७२ सालमा केन्द्रीय कार्यवाहक सभापति बने ।
उनले कार्यवाहक सभापति बनेकै समयमा पार्टीको १३औँ महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्न नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए ।
पार्टी सभापति हुने उनको चाहना भने पूरा भएन । उनी २०७२ सालदेखि नेपाली कांग्रेसको ‘वरिष्ठ नेता’ छन् ।
पार्टी सभापति र प्रधानमन्त्री बन्ने उनको चाहना पूरा नभए पनि अहिले आएर राष्ट्र प्रमुख बन्ने मौका पौडेलले पाएका छन् ।
जेल जीवन
राजनीतिक सक्रियताका कारण नै पौडेलले जेलनेल भोग्नुपरेको थियो । राजनीतिमा सक्रिय भएकै कारण उनी १७ वर्षको उमेरदेखि जेल पर्न थालेका थिए ।
भरतपुर कब्जा गर्ने नेपाली कांग्रेसको सशस्त्र सङ्घर्षमा संलग्न भएको आरोपमा पौडेल २०१८ सालमा काठमाडौँबाट गिरफ्तार भई पहिलोपटक करिब १ महिना हिरासतको सजाय पाए ।
यस्तै, २०२१ सालमा विद्यार्थी आन्दोलनका क्रममा गिरफ्तार र १ वर्ष हिरासतमा बन्दी बनेका थिए ।
पार्टी पूर्वसभापति गिरिजाप्रसाद कोइरालासँग पौडेलको पहिलो भेट नै जेलमा भएको थियो । २०२३ सालमा ‘डिआइजी काण्ड’मा गिरफ्तार भई नख्खु जेलमा रहँदा गिरिजाप्रसाद कोइरालासँग उनको पहिलो पटक भेट भएको हो ।
यस्तै, प्रजातान्त्रिक समाजवादी युवा संघको महासचिव भएको आरोपमा २०२४ सालमा पोखरामा गिरफ्तार गरी पौडेललाई करिब १५ महिना हिरासतमा राखिएको थियो । सो समय उनी पोखरामा ९ महिना र काठमाडौँमा ६ महिना हिरासतमा बसेका थिए ।
प्रजातान्त्रिक समाजवादी युवा संघको संगठन विस्तारका लागि पश्चिमाञ्चल क्षेत्रमा सक्रिय रहेको आरोपमा उनलाई गिरफ्तार गरी २०२५–२६ सालमा पुनः १ वर्ष काठमाडौँमा जेलमा राखिएको थियो ।
नेपाल विद्यार्थी संघ स्थापनामा नेतृत्व गरेको आरोपमा २०२७ सालमा काठमाडाँैमा ३ महिना हिरासत राखियो भने रमाइलो झोडा काण्डको विरोधमा प्रदर्शन गरेको आरोपमा २०२८ मा गिरफ्तार गरी २०३२ सम्म निरन्तर ४ वर्ष उनलाई बन्दी बनाइएको थियो ।
नेपाली कांग्रेसको पटना सम्मेलन (सन् १९७७) मा सक्रिय रहेको भनी २०३४ मा पौडेललाई पनि गिरफ्तार गरेर १० महिना हिरासतमा राखियो ।
यसै सम्मेलनद्वारा नेपाली कांग्रेसले पञ्चायतको अन्त्य र प्रजातन्त्र पुनर्स्थापनाका लागि सत्याग्रह गर्ने निर्णय गरेको थियो ।
जनमत सङ्ग्रहको सिलसिलामा बहुदलीय व्यवस्थालाई जिताउन सक्रिय रहेकै अवस्थामा २०३६ सालमा पौडेललाई फेरि गिरफ्तार गरेर ६ महिना हिरासतमा राखियो ।
पञ्चायती व्यवस्थाअन्तर्गत २०३८ सालको राष्ट्रिय पञ्चायतको निर्वाचन नेपाली कांग्रसले बहिस्कार गर्ने निर्णय गरेको थियो । पार्टी निर्णयअनुसार बहिस्कार अभियानमा सक्रिय रहँदा उनलाई पक्राउ गरेर ६ महिना हिरासतमा राखियो ।
२०४२ सालमा पञ्चायतको अन्त्य र प्रजातन्त्रको पुनर्स्थापनाका लागि नेपाली कांग्रेसले सत्याग्रह गर्यो । सो सत्याग्रह सफल बनाउन सक्रिय रहेको आरोपमा उनलाई गिरफ्तार गरियो । पौडेल २०४२ सालमा फेरि ९ महिना हिरासतमा परे ।
प्रजातन्त्र पुनर्स्थापनका लागि चलेको जनआन्दोलनमा नेपाली कांग्रेसका विभिन्न विभाग तथा शाखाहरूबारे पत्रपत्रिकामा प्रकाशन गरी सार्वजनिक गरेको आरोपमा उनलाई २०४५ सालमा फेरि गिरफ्तार गरियो । सो समय पौडेललाई ३ महिना हिरासतमा राखिएको थियो ।
यस्तै, बहुदलीय व्यवस्थाको पुनर्स्थापनार्थ धवलागिरि अञ्चलका जिल्लामा पार्टी संगठन विस्तार र आन्दोलनको तयारीको सिलसिलामा २०४६ सालमा गिरफ्तार गरी बागलुङ जेलमा ५ महिना हिरासतमा राखिएका पौडेल पूर्वराजा ज्ञानेन्द्रको शाही शासनका बेलामा पनि तारो बनेका थिए ।
शाही कदम (२०५९) पछि पौडेललाई करिब १ वर्ष नजरबन्द र हिरासतमा राखियो भने दोस्रो जनआन्दोलन २०६२/२०६३ का दौरान पटकपटक गिरफ्तार र गृहबन्दी बनाएर राखिएको थियो ।
यसबाहेक छोटो समयका लागि पटकपटक गिरफ्तार र हिरासतमा राखिएको पौडेलको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
जनप्रतिनिधि
पौडेल २०४८ सालमा तनहुँ– १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए । यस्तै, २०५१ र २०५६ मा तनहुँ– २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भए । दोस्रो जनआन्दोलनको सफलतापछि भएका २०६४ र २०७० सालका संविधानसभा सदस्य निर्वाचनमा उनी तनहुँ–२ बाटै संविधानसभा सदस्य निर्वाचित भए ।
ठुला कम्युनिस्ट पार्टीहरू नेकपा एमाले र माओवादी केन्द्रले तालमेल गरी चुनाव लडेका कारण २०७४ को निर्वाचनमा भने पौडेल पराजित भए । तर, २०७९ मंसिर ४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा भने उनी तनहुँ–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए ।
राजकीय जिम्मेवारी
किशोर अवस्थामा नै राजनीतिमा सक्रिय रहेका पौडेलले राजकीय जिम्मेवारी पनि पाउँदै आएका छन् । उनी २०४८ जेठ १५ देखि २०४९ सम्म पहिलोपटक स्थानीय विकास मन्त्री नियुक्त भएका थिए । यस्तै, २०४९ साउनदेखि २०५१ सम्म उनी कृषि मन्त्री भए ।
२०५१ को मध्यावध निर्वाचनपछि भने पौडेललाई कार्यपालिका होइन, व्यवस्थापिकाको नेतृत्व गर्ने अवसर जुट्यो । २०५१ साल पुस २ गतेदेखि उनी ५ वर्षका लागि प्रतिनिधिसभाको सभामुख भए ।
२०५६ को आमनिर्वाचनमा नेपाली कांग्रेसले बहुमत ल्याएपछि पौडेलले फेरि राजकीय जिम्मेवारी पाए । उनी २०५६ सालमा उपप्रधान तथा सूचना/सञ्चारमन्त्री भए भने स्थानीय विकासमन्त्री पनि बने ।
२०५६ सालमा नेपाली कांग्रेसले बहुमत ल्याए पनि तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला र नेता कृष्णप्रसाद भट्टराईबीचको विवादले कांग्रेसमा समस्या उत्पन्न भएको थियो ।
सोही कारण मन्त्रीहरू हेरफेर र मन्त्रालय परिवर्तन भइरहने गरेको थियो । यस्तो परिवेशमा पौडेल २०५६ देखि २०५८ सालसम्म उपप्रधान तथा गृहमन्त्री बने ।
सशस्त्र विद्रोह गरिरहेको माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन पौडेलले पनि महत्वपूर्ण भूमिका खेलेका छन् । उनी २०६१ देखि २०६२ सालसम्म शान्ति समितिको संयोजक भएका थिए ।
यस्तै, दोस्रो जनआन्दोलनको सफलता र माओवादी शान्ति प्रक्रियामा आइसकेपछि गठन भएको शान्ति तथा पुनर्निर्माण मन्त्रालयको जिम्मेवारी २०६३ सालमा पौडेलले नै पाए ।
पुरस्कार/सम्मान
पौडेलले मानवअधिकारसम्बन्धी विभिन्न पुरस्कार पाएका छन् । यस्तै, उनले नेपाल प्रजातन्त्र कांग्रेसका संस्थापक नेता महेन्द्रविक्रम शाहको नाममा स्थापना भएको महेन्द्रविक्रम शाह पुरस्कार पाएका छन् ।
सन् २०२० मा जापान सरकारले प्रदान गरेको राजकीय सम्मान ‘अर्डर अफ द राइजिङ सन्’ को सम्मान पनि उनले पाएका छन् ।
प्रकाशित पुस्तकहरू
अध्ययन र शालीन व्यक्तित्व बनाएका पौडेल पुस्तक लेखनमा सक्रिय राजनीतिज्ञ हुन् । उनले नेपाली कांग्रेसको संक्षिप्त इतिहास, प्रजातान्त्रिक समाजवाद : एक अध्ययन, नेपाली कांग्रेस र नेपालको आधुनिकीकरण, नेपाली कांग्रेस के भन्छ ?, आस्थाको यात्रा (राजनीतिक विश्लेषण), नेपाली कांग्रेस अबको बाटो प्रजातान्त्रिक समाजवाद, कृषि क्रान्ति र समाजवाद, राजनीतिको राजमार्ग, नेपाली कांग्रेस रूपान्तरणको मार्गचित्र, नयाँ सन्दर्भमा समाजवाद जस्ता पुस्तक लेखेका छन् ।
यस्तै, उनले अभिशप्त इतिहास (माघ १९ को काण्डपछि) लगायत दर्जनौँ पुस्तक र विभिन्न विषयमा नेपालका राष्ट्रिय दैनिक, साप्ताहिक, मासिक, तथा अनलाइनमा समसाययिक लेख/रचना प्रकाशित गरेका छन् ।
समाजवादी चिन्तक र प्रयोगकर्ता तथा स्वच्छ छवि, सादा जीवन, उच्च विचारका प्रयोगधर्मी पौडेललाई स्पष्ट वक्ता र प्रजातान्त्रिक समाजवादका व्याख्याता भनेर चिनिन्छ ।
नेपाली कांग्रेस सभित्र समन्वयकारी, मध्यमार्गी नेताका रूपमा परिचित उनी तत्कालीन सभापति विश्वेश्वरप्रसाद कोइराला, पार्टीका सर्वमान्य नेता गणेशमान सिंह, पार्टी संस्थापक कृष्णप्रसाद भट्टराई र पछि सभापति गिरिजाप्रसाद कोइराला र सिंह तथा भट्टराईबीचको विवाद तथा मनमुटाव मिलाउन सधैँ मध्यमार्गी र समन्वयकारी भूमिका निर्वाह गर्ने व्यक्तिका रूपमा परिचित छन् ।
द्वन्द्वरत माओवादीलाई मूलधारको राजनीतिमा ल्याउने ऐतिहासिक वार्ता र सहमतिका काममा अग्रणी भूमिका निर्वाह गरेका पौडेल विस्तृत शान्ति सम्झौताका मस्यौदाकार पनि हुन् ।
सहमति र सहकार्यका पक्षपाती पौडेल राजनीतिक जीवनमा २०१८ देखि २०६२ सम्म विभिन्न समयमा १४ वर्षभन्दा बढी जेल जीवन बिताएका छन् । यिनै सादगी नेता पौडेल नेपालको तेस्रो राष्ट्रपति बनेका छन् ।