विराटनगरमा नगर बस चलाउन रुट परीक्षण
विराटनगर–विराटनगर महानगरपालिकाले सञ्चालन गर्ने नगर बसका लागि दोस्रो पटक रुट परीक्षण (ट्रायल) गरिएको छ ।
महानगरपालिकाका प्रमुख नागेश कोइरालाको नेतृत्वमा बिहीबार रुट परीक्षण गरिएको हो । कम्पनीकै गाडीमार्फत रुट परीक्षण गरिएको को । कुन रुटमा कति क्षमता र साइजका बस सञ्चालन गर्न सहज हुन्छ भनेर परीक्षण गरिएको महानगरका प्रमुख कोइरालाले बताए ।
नगर बसमा ज्येष्ठ नागरिक र अपाङ्गता भएकाले निःशुल्क आवागमन गर्न पाउनेछन् । महिला र विद्यार्थीलाई सहुलियत दिने र अन्यलाई पनि न्यून शुल्क लिएर सेवा दिने प्रमुख कोइरालाले जानकारी दिए । बसमा एसीसहितका विभिन्न सुविधा हुने महानगरले जनाएको छ ।
परीक्षणका क्रममा सवारी चाप, जनघनत्व, घुम्ती तथा मोडहरूमा आइपर्ने समस्यालगायतका विषयमा समेत अध्ययन गरिएको छ ।
सर्वसाधारणको सहज आवागमनको उद्देश्यसहित महानगरले सिटी बस सञ्चालन गर्न लागेको हो । प्रारम्भिक चरणमा १९ वटा सिटी बस सञ्चालनको तयारी रहेको उनले बताए । निजी क्षेत्र र लगानी बोर्डसँगको साझेदारीमा नगर बस सञ्चालनको प्रक्रिया अन्तिम चरणम पुगेको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले जनाए ।
नगर बस सञ्चालनका लागि मेयर कोइरालाको नेतृत्वमा विभिन्न चरणमा छलफल भइ खरिद प्रक्रियासमेत अगाडि बढेको छ । यसअघि १८ फागुनमा पनि उपप्रमुख शिल्पा निराला कार्कीको नेतृत्वमा रुट परीक्षण गरिएको थियो ।