नेभिगेशन
समाज विविध

बाढीजन्य विपदमा उद्धार गर्न ‘रबर बोट’

बैतडी–बाढीजन्य विपदमा उद्धारका लागि बैतडीमा पहिलोपटक ‘रबर बोट’ उपलब्ध भएको छ । 

तटीय क्षेत्रमा हुने विपद्जन्य घटनाको समुचित व्यवस्थापनमा सहयोग पु¥याउने उद्देश्यसहित गृहमन्त्रालयको समन्वय तथा विश्वखाद्य कार्यक्रमअन्तर्गत मानवीय सहायतास्थलको सहयोगमा जिल्ला प्रशासन कार्यालयलाई ‘रबर बोट’प्राप्त भएको हो । 

प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीका अनुसार महाकाली, चमेलिया जस्ता ठूला नदीमा विभिन्न घटना भइरहने तर ‘रबर बोट’को अभावमा नदी, खोलामा फसेकाको उद्धार गर्न कठिनाइ भइरहेका बेला ‘रबर बोट’ले सहयोग पुग्नेछ ।  

‘रबर बोट’लाई सीमा नाका झुलाघाटस्थित सशस्त्र प्रहरीको बिओपीमा राख्ने तयारी भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

सशस्त्र प्रहरीसँग ‘रबर बोट’सञ्चालन गर्ने गोताखोर टोली तथा अन्य जनशक्ति भएकाले उनीहरुलाई यो उपकरण दिइनेछ । केही दिनमै उक्त ‘रबर बोट’को परीक्षण गर्ने र त्यसपछि सशस्त्र प्रहरीलाई हस्तान्तरण गरिनेछ । 

‘बाढीजन्य तथा अन्य विपद्ले पौडी खेल्न नजानेर डुबेर हुने घटनामा रबर बोटको प्रयोगले नदीमा खोजतलास गर्न सहज हुनेछ’, प्रजिअ पन्थीले भने । 

रबर बोटको अभावमा नदीमा फसेकाको उद्धार गर्न योभन्दा पहिला निकै कठिन भइरहेको अवस्थामा अब सहज हुने विश्वास गरिएको छ । 

जिल्ला विपद् व्यवस्थापन समितिले विपद्जन्य घटना व्यवस्थापनका लागि उक्त क्षेत्रमा क्रियाशिल सरकारी तथा गैरसरकारी निकायसँग भएका विपद् खोज तथा उद्धार सामग्रीको मर्मत गरेर चुस्तदुरुस्त राख्न आग्रहसमेत गरेको छ । यसका साथै विपद् पूर्वतयारी र प्रतिकार्य योजनासमेत बनाइएको छ ।  
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध