पाकिस्तानको एक विद्यालय बाहिर गोली चल्यो : ४ जनाको मृत्यु, ६ घाइते
इस्लामावाद– पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तको एक विद्यालय बाहिर बिहीबार भएको गोलीकाण्डमा ४ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।
प्रान्तको बन्नू जिल्लामा दुई समूहबीच भएको सशस्त्र झडपमा एक प्रहरी र एक विद्यार्थीको मृत्यु भएको प्रहरी स्रोतले जनाएको छ ।
घाइते विद्यार्थीसहित अन्यलाई नजिकैको अस्पतालमा लगिएको छ । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको स्वास्थ्यकर्मीले बताएका छन् ।
घटनापछि झडपमा सम्लग्न दुवै समूहका व्यक्ति फरार भएका छन् भने प्रहरीले उनीहरूको खोजी कार्य सुरु गरेको बताएको छ ।
पख्तुनख्वा प्रान्तमा सरकारी सुरक्षाकर्मी र विपक्षी समूहहरूबीच झडपका घटना पछिल्ला केही महिना बढेका छन् । यद्यपि बिहीबारको घटनाको समाचार तयार पार्दासम्म कुनै समूहले जिम्मेवारी लिएको छैन ।
प्रकाशित मिति: शुक्रबार, फागुन २६, २०७९ ०५:४०
प्रतिक्रिया दिनुहोस्