देशका पहाडी भागमा केहीबेर पानी पर्ने
काठमाडौँ– आज दिउँसो देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित केहीछिन पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
‘दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली तथा देशका बाँकी पहाडी भू–भागमा आंशिक बदली रही अन्य स्थानमा मौसम सामान्यतया सफा रहने छ, महाशाखाले आज बिहान जारी गरेको सूचनामा भनिएको छ, ‘देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन-चट्याङसहित क्षणिक-हल्का वर्षाको सम्भावना रहेको छ ।’
यस्तै, राति गण्डकी प्रदेशका पहाडी भू–भागका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङसहित केहीबेर पानी पर्ने सम्भावना रहेको बताइएको छ ।
‘कोसी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ,’ सूचनामा भनिएको छ, ‘गण्डकी प्रदेशका पहाडी भू–भागका एक वा दुई स्थानमा मेघ गर्जन-चट्याङसहित क्षणिक-हल्का वर्षाको सम्भावना रहेको छ ।’