Nic Ad Nic Ad
Nic Ad Nic Ad

व्यास नगरपालिकाद्वारा कृषकलाई मकैको बीउ वितरण 

शुक्रबार, फागुन २६, २०७९

तनहुँ– जिल्लाका व्यास नगरपालिकाले कृषकलाई उन्नत जातको छ मेट्रिक टन मकैको बीउ वितरण गरेको छ । नगरपालिकाले ५० प्रतिशत अनुदानमा उक्त बीउ उपलब्ध गराएको हो । 

व्यासका चौधवटै वडाका कृषकलाई मकैको बीउ वितरण  गरिएको हो । कृषकलाई अरुण–२, रामपुर कम्पोजिट, मनकामना–३ लगायत जातको मकैको बीउ वितरण गरिएको व्यास कृषि शाखाका कृषि अधिकृत प्रतिमा बगालेले जानकारी दिए । प्रत्येक वडाबाट सिफारिस भइ आएका कृषकलाई उनीहरूले माग गरेको आधारमा बीउ उपलब्ध गराएको उनले बताए ।

‘हालसम्म छ मेट्रिक टन बीउ वितरण गरिसकेका छौँ,’ बगालेले  भने, ‘बाँकी बीउ वितरण जारी छ ।’ उन्नत जातको मकैको बीउको मूल्य प्रतिकिलो रु एक सय ३० देखि रु एक सय ५० कायम गरिएको छ । 

कृषकलाई व्यावसायिक खेतीतर्फ आकर्षित तथा आत्मनिर्भर बनाउने उद्देश्यले बीउमा अनुदान दिन थालिएको उनको भनाइ छ । 

व्यास नगरपालिकाले यसअघि चौधवटै वडाका कृषकलाई २२  मेट्रिक टन आलुको बीउ वितरण गरेको थियो । 

यसैगरी नगरपालिकाले ५० प्रतिशत अनुदानमा कृषकलाई मौरीका घारसमेत वितरण गर्न लागेको छ । एक सय कृषकलाई मौरीसहितको घार प्रदान गरिने कार्यालयले जनाएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, फागुन २६, २०७९  ०६:४७
प्रतिक्रिया दिनुहोस्