Nic Ad Nic Ad
Nic Ad Nic Ad

ऊर्जामन्त्री बाहिरिएसँगै जलविद्युत् आयोजनाको पिपिए अन्योलमा

शुक्रबार, फागुन २६, २०७९

काठमाडौँ– ऊर्जामन्त्री राजेन्द्र लिङ्देनको बर्हिगमनसँगै जलविद्युत् आयोजनाको विद्युत् खरिद सम्झौता (पिपिए) फेरि अन्योलमा परेको छ ।

लिङ्देनले मन्त्रालय सम्हालेलगत्तै १५०० मेगावाटका आयोजनाको पिपिए खुला गर्ने निर्णय गरेका थिए । त्यसबाहेक पिपिएका लागि आवेदन दिएका बाँकी आयोजनाको पिपिए अन्योलमा परेको हो ।

नदी प्रवाहमा आधारित (आरओआर) प्रकृतिका १५०० मेगावाटका आयोजनाको पिपिए मन्त्रीकै पहलकदमी र अग्रसरता खोलिएको थियो । तर, मन्त्री बाहिरिएसँगै बाँकी आयोजनाको पिपिए हुने-नहुने अन्योलता थपिएको ऊर्जा उत्पादकहरू बताउँछन् ।

४ वर्षदेखि कुनै पनि जलविद्युत् आयोजनाको पिपिए भएको थिएन । लामो समयपछि पिपिए खुल्दा निजी क्षेत्रले राहत महसुस गरे पनि पिपिएको पाइपलाइनमा रहेका बाँकी १० हजार २२४ जलविद्युत् आयोजना अन्योलमा फसेका छन् ।

यसअघि निजी क्षेत्रबाट पिपिएका लागि ११ हजार ७२४ मेगावाटका आयोजनाले प्राधिकरणमा निवेदन दिएका थिए । 

लामो समयदेखि पिपिए रोकिँदा ऊर्जा उत्पादकहरूले जेनेरेसन लाइसेन्सको राजस्व सरकारलाई तिर्दै आएका थिए । आयोजना निर्माण गरेर विद्युत् बिक्री गर्न प्राधिकरणसँग पिपिए अनुमतिपत्र (लाइसेन्स) दिनुपर्ने हुन्छ ।

जेनेरेसन लाइसेन्स दिए पनि प्राधिकरणले पिपिए नगरिदिँदा निजी क्षेत्र रुष्ट थियो । स्वतन्त्र ऊर्जा उत्पादकहरूले विभिन्न समयमा पिपिए खुलाउन दबाब दिँदै आएका थिए ।

तर, उत्पादित विद्युत्को बजार र खपत हुन नसकी बिजुली किनेर खेर जाने डरले प्राधिकरणले पिपिए गरेको थिएन । 

पिपिए खुलाउने निर्णयप्रति स्वतन्त्र ऊर्जा उत्पादकहरूले पनि स्वागतयोग्य कदम भन्दै मन्त्रीको प्रंशसा गरेका थिए । मन्त्रीकै पहलमा पिपिए खुल्नु सकारात्मक भए पनि उनको बर्हिगमनसँगै बाँकी पिपिए हुने÷नहुने संशय पैदा भएको उर्जा उद्यमी सूर्य अधिकारी बताउँछन् ।

तर, विद्युत् ऐन नआएको अवस्थामा नियमावलीमार्फत् भए पनि पिपिएमा देखिएको अन्योल हटाउनुपर्ने उनले सिएन नेपाललाई जानकारी दिए ।

पिपिए नगर्ने हो भने लाइसेन्स जारी गरेर सरकारले राजस्व लिइराख्ने र ५ वर्षपछि लाइसेन्स ‘बास्केट’मा हाल्ने व्यवस्था अन्त्य हुनुपर्ने उनको भनाइ छ ।

‘१५०० मेगावाटबाहेक अन्य आयोजनाको पिपिए के गर्ने भन्ने अन्योल चिर्न ऐनमै केही व्यवस्था गर्नुपर्ने हुन्छ । ऐनमा भएको व्यवस्थालाई टेकेर त्यसअनुसार नियमावली संशोधन गरेर पिपिए खुलाउनतर्फ नै सरकारले जोड दिनुपर्छ,’ उनले बताए ।

यता, १५०० मेगाावाटबाहेक पाइपलाइनका रहेका अन्य आयोजनाका सन्दर्भमा पिपिए तत्काल हुने अवस्था नरहेको ऊर्जा मन्त्रालयका प्रवक्ता मधुप्रसाद भेटुवालले बताए ।

‘१५०० मेगावाटबाहेकका आयोजनाको पिपिए तत्काल त नहोला । अलि पछि हुँदै जाला,’ उनले भने, ‘सरकारले अरू केही व्यवस्था र निर्णय गर्ला, त्यसपछि मात्र अघि बढ्छ ।’

विद्युत् व्यवस्थापन र बजारको अवस्था हेरेर सरकारले बाँकी पिपिए खुला गर्ने÷नगर्ने निर्णय गर्ने उनको भनाइ छ ।

पूर्वऊर्जामन्त्री पम्फा भुसालले पनि पिपिए छिट्टै खुलाउने आश्वासन दिएकी थिइन् । उनको कार्यकालमा पनि पिपिए खुलेन ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पिपिए खुलाउन नचाहँदा लामो समयदेखि पिपिए रोकिन पुगेको ऊर्जा उत्पादकहरूको गुनासो छ । 

दोहोरिएर प्राधिकरणको नेतृत्वमा आएका घिसिङकै कारण रोकिएको पिपिए पछिल्लो पटक मन्त्री बनेका लिङ्देनले मन्त्रीस्तरीय निर्णय गर्दै नैतिक दबाब दिएपछि मात्र १५०० मेगावाटको पिपिए खुलेको जानकारहरू बताउँछन् ।

तथापि, मन्त्री बाहिरिएपछि भने घिसिङकै हैकम हुने हुँदा पिपिए अन्योलमा परेको छ ।

विद्युत्को आन्तरिक खपत नभएको भन्दै प्राधिकरणले पिपिए गरेकै आयोजनाको बिजुली पनि नकिन्दा अघिल्लो वर्षको बर्खायाममा २५० मेगावाटभन्दा बढी बिजुली खेर गयो ।

प्राधिकरणले यस वर्ष करिब ७०० मेगावाट बिजुली थप हुने बताएको छ । थपिने बिजुलीसहित कुल जडित क्षमता ३ हजार मेगावाटभन्दा माथि पुग्दा आउने बर्खायाममा तुलनात्मक रूपमा बढी बिजुली खेर जाने अवस्था आउने ऊर्जा प्रवद्र्धकहरू बताउँछन् ।

प्राधिकरणले हालसम्म १ हजार ६९३ मेगावाट बिजुलीको पिपिए गरेर विद्युत् खरिद गरिसकेको छ भने ३ हजार २५३ मेगावाटका आयोजनाको पिपिए भएर निर्माणाधीन अवस्थामा छन् ।
 

प्रकाशित मिति: शुक्रबार, फागुन २६, २०७९  ०७:४८
प्रतिक्रिया दिनुहोस्