माओवादी पृष्ठभूमिका पार्टीहरूको बैठक बालुवाटारमा जारी
काठमाडौँ– माओवादी पृष्ठभूमिका नेताहरूको बैठक अहिले प्रधामन्त्री निवास बालुवाटारमा जारी छ ।
बैठक केहीबेरअघि सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बैठकमा माओवादी २०५२ मा सुरु गरेको १० वर्षे सशस्त्र युद्धमा सँगै सहभागी भएका माोवादी पृष्ठभूमिका पार्टीहरूको सहभागी छन् ।
बैठकमा प्रधानमन्त्री प्रचण्ड, सिपी गजुरेल, नेत्रविक्रम चन्द ‘विप्लव’, कृष्णबहादुर महरा, जनार्दन शर्मा, हिसिला यमी, खड्गबहादुर विक ‘प्रकाण्ड’, विष्णुभक्त दुलाल आहुति, कर्णजित बुढाथोकी, हेमन्तप्रकाश वलीलगायत उपस्थित छन् ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २०७६ मा एक कार्यक्रममा भाषण गर्ने क्रममा द्धन्द्धकालमा मारिएका ५ हजारको जिम्मा आफूले लिने बताएका थिए । यसबारे उनले दिएको अभिव्यक्तिविरुद्ध सर्वोच्चमा मुद्दा हाल्न पाइने फैसला हालै भएको थियो । त्यसपछि उनीमाथि माओवादीबाट मारिएका परिवारका केही सदस्यले मुद्दा हालेका छन् ।
यसपछि फागुन २१ मा माओवादी घटकका नेताहरू प्रचण्ड, डा बाबुराम भट्टराई, नेत्रविक्रम चन्द विप्लवलगायत एउटै मञ्चमा देखिएका थिए । उनीहरूले जनयुद्धको बचाउ गर्दै सबै मिल्नुपर्ने संकेत गरेका थिए । यसपछि मंगलबारदेखि बैठक बस्न थालेको हो ।
प्रचण्डविरुद्धको मुद्दाले सशंकित बनेका माओवादी पृष्ठभूमिका नेताले संक्रमणकालीन न्यायसँग सम्बन्धित सबै विषय सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगमार्फत अगाडि बढाउनुपर्नेमा जोड दिएका छन् ।
मंगलबार पनि उनीहरूले शान्ति सम्झौता र परिवर्तनका विरुद्ध हुने कुनै पनि गतिविधिको प्रतिवाद गर्ने बताएका थिए । आज पनि यसै विषयमा एकजुट भइरहेका हुन् ।