फरक समुदायका महिलालाई उपराष्ट्रपति उम्मेदवार बनाउन सुझाव
काठमाडौँ– माओवादी धारका पार्टीहरूले फागुन २८ गते संयुक्त पत्रकार सम्मेलन गरी शान्ति प्रक्रियाको उल्लंघन गर्ने खालका प्रवृत्तिको खण्डन गर्ने भएको छ ।
शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको माओवादी धारका नेताहरूको बैठकले सो निर्णय गरेको हो ।
बैठकले शान्ति प्रक्रियालाई स्थापित गर्ने प्रक्रियाहरू अघि बढाउन संयुक्त अपिल प्रकाशन गर्ने, संयुक्त पत्रकार सम्मेलन गर्ने र फागुन ३० गते नागरिक समाजसँग शान्ति प्रक्रियाका बारेमा अन्तर्क्रिया गर्ने निर्णय गरेको नेकपा (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले जानकारी दिए ।
उनले पछिल्लो शान्ति प्रक्रियाको उल्लंघन गर्ने प्रवृत्ति देखिएकोप्रति आपत्ति जनाए ।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै महासचिव गुरुङले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध दर्ता भएको रिट अदालतको कानुनी प्रक्रियाअनुसार अघि बढ्ने बताए ।
शान्ति प्रक्रिया उल्लंघन गर्ने, उल्ट्याउने खालका प्रवृत्तिहरू देखिएको भन्दै शान्ति प्रक्रियाको पक्षमा र शान्ति प्रक्रियालाई छिटोभन्दा छिटो सम्पन्न गर्नुपर्छ भन्ने पक्षमा नै निरन्तर अभियान जारी राख्ने निर्णय भएको उनले बताए ।
महासचिव गुरुङले उपराष्ट्रपतिमा लैंगिक र सामुदायिक रूपमा फरक हुनुपर्ने आफ्नो पार्टीको धारणा रहेको उल्लेख गरे ।
नेपालको अहिलेको स्थितिअनुसार फरक समुदायको महिला नै भए राम्रो हुने बताउँदै उनले आफ्नो पार्टीले फरक समुदायको महिलालाई उपराष्ट्रपतिको उम्मेदवार बनाउन गठबन्धनका घटकहरूले पहल गर्नुपर्ने अभिव्यक्ति रहेको बताए ।
महासचिव गुरुङले उपराष्ट्रपतिको निर्वाचन सकिएसँगै निर्वाचन आचारसंहिता सकिने भएकाले ५ गतेपछि मात्रै सरकार विस्तार हुने पनि बताए ।