Nic Ad Nic Ad
Nic Ad Nic Ad

जसपालाई उपराष्ट्रपति दिने निर्णय भएको छैन : कांग्रेस

‘माओवादीलाई बाहिर राखेर एमालेसँग सहकार्य हुँदैन’
शुक्रबार, फागुन २६, २०७९

काठमाडौँ– नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले पदको लोभका कारण पुस १० गते कांग्रेससहितको गठबन्धन भत्किएको स्वीकार गरेका छन् । 

शुक्रबार ललितपुरको बोडेस्थित पूर्वप्रधानमन्त्री स्व कृष्णप्रसाद भट्टराईको आश्रममा पुगेर उनले यस्तो बताए । 

नेपाललाई रूपान्तरण गर्ने, स्थायी शान्तिको जगमा सबै दल मिलेर मुलुकको आर्थिक उन्नति र प्रगतिका लागि बेगमा मुलुकलाई लैजाने संकल्प कार्यान्वयन हुन नसक्दा तत्कालीन गठबन्धन भत्किएको जनाए । 

तर, त्यो गल्तीलाई सच्याएर अघि बढेको बताउँदै उपसभापति खड्काले पुस १० गतेपछि नै आफूसहित पार्टीले एजेन्डामा सहमति भएका दलहरूबीच विभिन्न चरणमा छलफल गरी अघि बढ्नुको परिणाम स्वरूप बिहीबार राष्ट्रपतिमा कांग्रेसका रामचन्द्र पौडेल विजयी भएको बताए । 

उपसभापति खड्काले उपराष्ट्रपति निर्वाचनको बारेमा केही समझदारी र सहमति भए पनि गठबन्धनबीचमा जनता समाजवादी पार्टीलाई नै उपराष्ट्रपति दिने निर्णय नभइसकेको बताए । अब छिटै नै गठबन्धनको बैठक बसेर औपचारिक निर्णय गर्ने बताउँदै उनले दलहरूबीचमा सहमति गरेर उपराष्ट्रपति निर्वाचनमा पनि सकारात्मक परिणाम ल्याउने बताए ।

उपसभापति खड्काले कांग्रेस र माओवादीलाई दुईतिर राखेर एमालेसँग कांग्रेसले सहमति गर्ने कुरा सपनामा पनि नसोच्न आग्रह गरे । 

उनले पुस १० गते गठबन्धन भत्किएको गल्ती अब पुनः नदोहा¥याउने बताउँदै अहिलेको गठबन्धन अब एजेन्डामा टसमस नभई ५ वर्ष नै टिक्ने दाबी गरे ।

उपसभापति खड्काले उपराष्ट्रपतिको निर्वाचनपछि मात्रै सरकारको विस्तार हुने जानकारी दिए । उपराष्ट्रपतिको निर्वाचनपछि प्रधानमन्त्रीले विश्वासको मत लिने र त्यसको कही दिनमा सरकार विस्तार हुने उनको भनाइ थियो । 

आगामी सरकार पनि प्रचण्डकै नेतृत्वमा बन्ने र कांग्रेस पनि सरकारमा सहभागी हुने उनको भनाइ छ । 

यस्तै, उपसभापति खड्काले द्वन्द्वकालीन मुद्दा १२ बुँदे शान्ति सम्झौतामार्फत नै टुंग्याउने बताए ।
 

प्रकाशित मिति: शुक्रबार, फागुन २६, २०७९  १२:४४
प्रतिक्रिया दिनुहोस्