मृतकको परिवारलाई क्षतिपूर्ति माग्दै प्रदर्शन
काठमाडौँ– बुधबार भएको सवारी दुर्घटनामा मृत्यु भएका पत्रकार पवनलाल श्रेष्ठका परिवारलाई उचित क्षतिपूर्ति र दोषीलाई कारबाही गर्नुपर्ने भन्दै काठमाडौँको साँखुमा विरोध प्रदर्शन भएको छ ।
घटनाको निष्पक्ष छानबिन हुनुपर्ने, टिपर आतंक बन्द गर्नुपर्ने र पिडित परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने भन्दै स्थानीयले शुक्रबार साँखु बसपार्कअगाडिको सडक अवरुद्ध गरेर विरोध प्रदर्शन गरे ।
शंखरापुर नगरपालिका–९ इन्द्रेणी चोकमा बुधबार बेलुकी टिपरले ठक्कर दिँदा बा९४प ४४९८ नम्बरको मोटरसाइकलका चालक साँखुका ५० वर्षका पत्रकार पवनलाल श्रेष्ठ र बा८२प ८३५७ नम्बरको मोटरसाइकल चालक शंखरापुर–९ घर भएका २२ वर्षका हरि खड्काको मृत्यु भएको थियो ।
उक्त घटनाको विषयमा बौद्ध प्रहरीले अनुसन्धान गरिरहेको छ ।
तर, स्थानीयले भने साँखु प्रहरीमा नै टिपरसहित चालकलाई राखेर अनुसन्धान गर्न माग गरेका छन् ।
उनीहरूले टिपर चालकलाई उन्मुक्ति दिन लागिएको भन्दै प्रशासनविरुद्ध नाराबाजी गरेका छन् ।