नेभिगेशन
समाज विविध

निकुञ्जका बँदेलमा देखियो ‘अफ्रिकन स्वाइन फिभर’

कञ्चनपुर– शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको बँदेलमा ‘अफ्रिकन स्वाइन फिभर’को सङ्क्रमण देखिएको छ । 

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत किशोर मेहताले निकुञ्जको बँदेलमा अफ्रिकन स्वाइन फिभरको सङ्क्रमण देखिएको जानकारी दिए ।

‘यही फागुन १९ गते निकुञ्जमा गस्ती गरिरहेका बेला बँदेल मृतावस्थामा भेटिएको थियो,’ उनले भने,, ‘चोटपटक नलागेको र जिउ सुन्निएको अवस्थामा देखेपछि परीक्षण गरिएको हो ।’

उनका अनुसार काठमाडौँको केन्द्रीय प्रयोगशालामा परीक्षण गर्दा बँदेलमा अफ्रिकन स्वाइन फिभर देखा परेको हो । निकुञ्जभित्र सङ्क्रमण देखिएपछि अन्य जनावरमा समेत सङ्क्रमणको जोखिम बढेको छ । 

गत माघमा कञ्चनपुरका बंगुर फार्ममा पहिलो पटक अफ्रिकन स्वाइन फिभरको सङ्क्रमण देखिएको हो । यसको उपचार नभएकाले यो रोग लागेपछि पशुमा ठुलो नोक्सानी पुग्न सक्ने भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरका वरिष्ठ पशु चिकित्सक पानसिंह ठगुन्नाले बताए ।

अफ्रिकन स्वाइन फिभर रोग लागेमा सुँगुर र बंगुर एकै ठाउँमा थुप्रिएर बस्ने, शरीरमा निलडाम देखिने, कानको टुप्पोमा रगत जमेको धब्बा देखिने र नाकबाट फिँज आउनेजस्ता लक्षण देखा पर्ने पशु चिकित्सक बताउँछन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध