नेभिगेशन
समाचार

ठाकुरराम क्याम्पसमा स्ववियु निर्वाचन स्थगित

वीरगन्ज–वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको प्रक्रिया स्थगित भएको छ ।

क्याम्पस प्रमुख डा. उमेशकुमार चौरसियाले शुक्रबार सूचना जारी गर्दै अर्को सूचना नआएसम्मका लागि स्ववियु निर्वाचनको प्रकिया स्थगित गरिएको जानकारी दिए । 

क्याम्पसमा गठित निर्वाचन समितिले जारी गरेको मतदाता नामावलीमा फर्जी विद्यार्थीसमेतको नाम रहेको विषयमा विद्यार्थी र प्रशासनबीच विवाद हुँदा असन्तुष्ट विद्यार्थीहरूको एउटा समूहले क्याम्पको विद्यार्थी कल्याण तथा खेलकुद शाखामा आगजनी गरेपछि प्रमुख डा. चौरसियाले यसअघि निर्धारित स्ववियु निर्वाचन प्रक्रिया स्थगित गरेका हुन् ।

आजगजनी पछि शनिबारका लागि निर्धारित मनोनयन पत्र दर्ता कार्यक्रमसहित त्यसपछिका सबै निर्वाचन कार्यतालिका स्थगित गरिएको हो ।

शुक्रबार क्याम्पस प्रमुख, निर्वाचन अधिकृत र विभिन्न विधार्थी संगठन तथा समूहका नेताहरूबीच मतदाता नामावली लगायतका विषयमा उत्पन्न विवादमाथि छलफल चलिरहेको थियो । सोही क्रममा विद्यार्थीको एउटा समूहले विद्यार्थी कल्याण तथा खेलकुद शाखामा पेट्रोल छर्केर आजगनी गरेका  थिए । आगजनीबाट शाखामा रहेको फर्निचरमा क्षति पुगेको छ ।

आगजनी गरेको आशंकामा ३ जना विद्यार्थी नेतालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा नेकपा एकीकृत समाजवादी पार्टी निकट अनेरास्ववियुका नेता सुजित गिरी, अनेरास्ववियु क्रान्तिकारीका नेता शिवम साह र अनेरास्ववियुका नेता अभिषेक चौहान छन् । 

यता मतदाता नामावलीका विषयमा विद्यार्थी संगठनहरूले छानबिनका लागि राखेको मागलाई मध्यनजर गरि क्याम्पसका प्राध्यापक रघुनाथ प्रसाद चौरसियाको संयोजकत्वमा छानबिन समिति पनि गठन गरिएको छ । 

डा. चौरसियाका अनुसार समितिले ३ दिन भित्र २१ फागुनमा प्रकाशित मतदाता नामावलीको छानबिन गरि प्रतिवेदन बुझाउने छ । त्यसपछि प्रतिवेदनका आधारमा अन्तिम मतदाता नामावली प्रकाशित गरि पुनः अर्को निर्वाचन कार्यतालिका प्रकाशन गरिनेछ । 

त्रिभुवन विश्वविद्यालयले निर्धारण गरेको चैत ५ मा हुने मतदान भने प्रभावित नहुने गरि आफूहरू अगाडि बढ्ने उनले पनि प्रष्ट पारे ।

thakur1678450591.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार