लहानमा १० क्षेत्रमा भूमीको वर्गीकरण
सिरहा –लहान नगरपालिकाले भूमीलाई १० क्षेत्रमा वर्गीकरण गरेको छ । वर्गीकरण गरेको सम्पूर्ण विवरण शुक्रबार नापी र मालपोत कार्यालयलाई हस्तान्तरण गरिएको हो । योसँगै अब जग्गाको किताकाट र किनबेच खुलेको छ ।
नगरपालिकाले कृषि, आवसीय, व्यवसायिक, औद्योगिक, खानी तथा खनिज, वन, नदी÷खोला÷ताल÷सिमसार, सार्वजानिक उपयोग, सांस्कृतिक तथा पुरातात्विक महत्व र नेपाल सरकारबाट आवश्यकता अनुसार तोकिएको अन्य क्षेत्र गरी १० क्षेत्रमा वर्गीकरण गरेको छ ।
२७ जेठमा भू–उपयोग ऐन २०७६ र भू–उपयोग नियामवली २०७९ ले व्यवस्था गरे अनुसार नेपाल सरकारको मन्त्रिपरिषदले निर्णय गरी नगरक्षेत्र भित्रको भूमिको भू–उपयोग वर्गीकरण गर्नका लागि पत्राचार गरेको थियो । सोही अनुसार १० क्षेत्रमा वर्गीकरण गरी विवरण मालपोत र नापीलाई बुझाइएको प्रमुख महेश चौधरीले जानकारी दिए ।
वर्गीकरणका लागि लहान नगरपालिका भू–उपयोग परिषदले १४ फागुनमा निर्णय गरेको थियो ।
भूमी वर्गीकरण गर्ने लहान नगरपालिका जिल्ला पहिलो पालिका बनेको छ । जग्गा वर्गीकरण नहुँदा किताकाट र किनबेच रोकिएको थियो ।