नेभिगेशन
समाचार

उपराष्ट्रपतिमा एमालेबाट अष्टलक्ष्मी शाक्यको उम्मेदवारी दर्ता

काठमाडौँ–नेकपा एमालेबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले उपराष्ट्रपति पदमा उम्मेदवारी दर्ता गराएकी छन् । 

उनले नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दिएकी हुन् ।  

शाक्यको प्रस्तावकमा अध्यक्ष केपी शर्मा ओली, सुवास नेम्वाङ, छविलाल विश्वकर्मा, गोकर्ण विष्ट, रघुवीर महासेठ छन् । समर्थकमा कृष्णगोपाल श्रेष्ठ, महेश वर्तौला, तुलसा दाहाल, भगवती न्यौपाने र यसोदा रिमाल छन् । 

शनिबार बिहान बसेको एमाले सचिवालय बैठकले उपाध्यक्ष शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो । 

निर्वाचन कार्यतालिका अनुसार शनिबार नै उम्मेदवारविरुद्ध उजुरी दिन सकिनेछ । यसका लागि २ देखि ३ बजेसम्मको समय तोकिएको छ । 

आइतबार उजुरीउपर जाँचबुझ पछि निर्णय लिइने निर्वाचन आयोगले जनाएको छ । सोही दिन उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यसूची छ । आइतबार नै उम्मेदवारले नाम फिर्ता लिने र सोही दिन अन्तिम नामावली प्रकाशन गर्ने कार्यसूची रहेको कार्यतालिकामा उल्लेख छ । 

उपराष्ट्रपति पदको मतदान चैत ३ गते हुनेछ । मतदान बिहान १० दखि दिउँसो ३ बजेसम्म हुने आयोगले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार