पहिला समाजवादी मोर्चा अनि कम्युनिस्टहरूको वृहत्तर एकता : प्रधानमन्त्री
काठमाडौं–प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही दिनमा समाजवादी मोर्चा बन्ने र त्यसको जगमा कम्युनिस्ट एकताको पहल गरिने बताएका छन् ।
केन्द्रीय कार्यालय पेरिसडाँडामा मधेस प्रदेशका केन्द्रीय सदस्यहरूको बैठकलाई शनिबार सम्बोधन गर्दै प्रधानमन्त्रीले पहिला समाजवादी मोर्चा बनाउने र त्यसपछि कम्युनिस्टहरूको बृहत्तर एकताका निम्ति बहस सुरू गरिने बताए ।
‘जनयुद्ध र जनआन्दोलनका मुद्दा सम्बोधन भइसकेका छैनन्, शान्ति प्रक्रिया टुंगोमा पुगिसकेको छैन’, प्रधानमन्त्रीले भने, ‘शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायको सिद्धान्तका आधारमा राजनीतिक निकास दिने जिम्मेवारी हाम्रो काँधमा छ । यसका निम्ति समाजवादी शक्तिहरूको सहकार्य र एकता जरूरी छ ।’
प्रधानमन्त्रीले भने, ‘माओवादी धाराका कम्युनिस्ट घटकहरूबीच छलफल भइरहेको छ । शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायसम्बन्धी विषय सत्यनिरूपण तथा मेलमिलापको माध्यमद्वारा टुंगो लगाउनुपर्छ भन्ने हाम्रो साझा मत छ । भोलि संयुक्त अपिल गर्दै छौँ, पत्रकार सम्मलेन गर्दै छौँ । केही दिनमा समाजवादी मोर्चा बन्छ ।’
संसारमा एकपटक कम्युनिस्ट आन्दोलन पराजित भएपछि उठेर आएका बिरलै दृष्टान्त भएको भन्दै उनले बृहत्तर वामपन्थी एकतामार्फत् चुनौती छिचोलेर समाजवादको ढोका खोल्नुपर्ने बताए । उन भने, ‘चाहे पूर्वी युरोप हेर्नुस्, चाहे पश्चिम बंगाल वा अन्य ठाउँको क्रान्ति हेर्नुस् । क्रान्तिले धक्का खाएपछि उठ्न कठिन हुन्छ । नेपालमा पनि हामी चुनौती र सम्भावनाको दोसाँधमा छौँ ।’