शिक्षा नीतिमा परिवर्तन गर्नुपर्छ : नेता पौडेल
काठमाडौँ– नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले नेपालको शिक्षा नीति परिवर्तन गर्नुपर्ने बताएक छन् ।
काठमाडौँको बूढानीलकण्ठमा सञ्चालित ज्ञान चक्षु स्कुलको १७औँ वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा आज आयोजित कार्यक्रममा बोल्दै उहाँले शिक्षा क्षेत्र प्रविधिमैत्री र प्रतिस्पर्धात्मक हुँदै गएकाले समयानुकूल शिक्षा नीतिमा परिवर्तन गर्नुपर्ने बताएका हुन् ।
‘सरकारी विद्यालयभन्दा निजीस्तरका विद्यालयको शैक्षिक गुणस्तर राम्रो छ, निजी विद्यालयको शुल्क महँगो छ, अभिभावकले तिर्न कठिनाइ भएको छ, राज्यले यसबारे सोच्नुपर्ने बेला आएको छ’, उनले भने । प्रमाणपत्रमुखी भन्दा नेतृत्व गर्ने शिक्षा आजको आवश्यकता भएको उनको भनाइ थियो ।
नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य कल्पना शर्माले विद्यालयको गुणस्तरलाई उकास्नका लागि शिक्षक, विद्यार्थी, अभिभावक तीन वटै पक्षको महत्वपूर्ण भूमिका रहेको बताइन् ।
विद्यालयका प्राचार्य मीनकुमार कोइरालाले विद्यालयले पढाइमात्र नभएर अतिरिक्त क्रियाकलापलाई समेत अगाडि बढाउँदै गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको बताए । कार्यक्रममा विद्यालयका उत्कृष्ट शिक्षक, कर्मचारी र विद्यार्थीलाई सम्मान गरिएको थियो ।