Nic Ad Nic Ad
Nic Ad Nic Ad

माओवादी पृष्ठभूमिका पार्टीहरू आज संयुक्त पत्रकार सम्मेलन गर्दै

आइतबार, फागुन २८, २०७९

काठमाडौँ– माओवादी पृष्ठभूमिका पार्टीहरूले आज संयुक्त पत्रकार सम्मेलन गर्ने भएका छन् । उनीहरूले दिउँसो २ बजे नेपाल प्रज्ञा प्रतिष्ठानमा पत्रकार सम्मेलन गर्न लागेका हुन् ।

नेपालमा १० वर्षसम्म चलेको सशस्त्र युद्धकालीन मुद्दालाई सर्वोच्च अदालतले नियमित प्रक्रियाबाट सम्बोधन गर्न थालेको भन्दै पछिल्लो समय माओवादी पृष्ठभूमिका नेताहरू एकजुट भइरहेका छन् ।

सत्य निरुपण तथा मेलमिलाव आयोग अन्तर्गतका मुद्दा सर्वोच्चले हेर्न थालेकोमा आपत्ति जनाउँदै त्यसैबारेमा आफ्नो धारणा राख्न उनीहरूले आज पत्रकार सम्मेलन गर्न लागेको एक नेताले बताए ।

सो पत्रकार सम्मेलनमा प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित माओवादी घटकमा आबद्ध सबै शीर्ष नेताहरू उपस्थित रहनेछन् । माआवादी केन्द्रका अध्यक्ष प्रचण्डले २०७६ मा एक कार्यक्रममा भाषण गर्ने क्रममा द्धन्द्धकालमा मारिएका ५ हजारको जिम्मा आफूले लिने बताएका थिए । यसबारे उनले दिएको अभिव्यक्तिविरुद्ध सर्वोच्चमा मुद्दा हाल्न पाइने फैसला हालै भएको थियो । त्यसपछि उनीमाथि माओवादीबाट मारिएका परिवारका केही सदस्यले मुद्दा हालेका छन् । 

यसपछि फागुन २१ मा माओवादी घटकका नेताहरू प्रचण्ड, डा बाबुराम भट्टराई, नेत्रविक्रम चन्द विप्लवलगायत एउटै मञ्चमा देखिएका थिए । उनीहरूले जनयुद्धको बचाउ गर्दै सबै मिल्नुपर्ने संकेत गरेका थिए । यसपछि मंगलबारदेखि बैठक बस्न थालेको हो । शुक्रबार पनि बैठक चलेको थियो । 

प्रचण्डविरुद्धको मुद्दाले सशंकित बनेका माओवादी पृष्ठभूमिका नेताले संक्रमणकालीन न्यायसँग सम्बन्धित सबै विषय सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगमार्फत अगाडि बढाउनुपर्नेमा जोड दिएका छन् ।

मंगलबार र शुक्रबार पनि उनीहरूले शान्ति सम्झौता र परिवर्तनका विरुद्ध हुने कुनै पनि गतिविधिको प्रतिवाद गर्ने बताएका थिए । 
 

प्रकाशित मिति: आइतबार, फागुन २८, २०७९  ०७:१०
प्रतिक्रिया दिनुहोस्