नेभिगेशन
समाज विविध

बिरामी खोज्दै घरदैलोमा डाक्टर

इटहरी– सुनसरी जिल्ला अस्पतालका डाक्टरको टोलीले स्वास्थ्य सेवाको प्रवाहलाई अभियानका रूपमा अघि बढाएको छ ।

गाउँघरमै पुगेर डाक्टरको टोलीले बिरामीको पहिचान गरी उपचार तथा परामर्श सेवा उपलब्ध गराउने अभियान सुरु गरेको हो ।

अस्पतालका मेसु डा. देवराज घिमिरेले थालेको ‘गाउँघरमा डाक्टर’ अभियानलाई अस्पतालका अन्य डाक्टरले समेत साथ दिएका छन् । जसले जिल्लाका विकट र दूरदराजका टोल र बस्तीमा उपचार सेवाको उपलब्धतालाई सहज बनाइदिएको छ ।

स्वास्थ्यमा सबैको समान पहुँचको मूल उद्देश्य राखिएको अभियानलाई हरेक हप्ताको शनिबार सञ्चालन गरिने इनरुवा अस्पतालले जनाएको छ ।

डा. घिमिरेका अनुसार अभियानले विशेष गरी गरिब, दलित र विपन्न समुदायका मानिसलाई स्वास्थ्य सेवाको पहुँचमा जोड्नेछ ।

उनले दीर्घरोगीहरूलाई खोजेर उपचार गर्न नसक्नेलाई गाउँमै पुगेर उपचार गरेको बताए । उनले हरेक हप्ताको शनिबार घरमै पुगेर उपचार गर्ने बताए । 

घरदैलोमै उपचार सम्भव हुनेलाई ठाउँको ठाउँ उपचार सेवा दिने गरी थालिएको अभियान बिरामीलाई उपचारका लागि अस्पतालसम्म पुग्ने बानीको विकास गर्नेतर्फ केन्द्रित छ । 

इनरुवा अस्पतालले गाउँघरमा डाक्टर अभियानलाई सर्वसाधारण लक्षित स्वास्थ्य सचेतना र सावधानीको खाँचोका रूपमा अघि बढाएको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध