Nic Ad Nic Ad
Nic Ad Nic Ad

दाङका मुक्त कमलरीहरू : सीप सिक्दै, आत्मनिर्भर बन्दै

आइतबार, फागुन २८, २०७९

देउखुरी– घोराही उपमहानगरपालिका–८ बेलुवाकी तिला चौधरी मुक्त कमलरी विकास मञ्चमा आबद्ध भएर ज्ञान र सीप आर्जन गरिरहेकी छिन् । उनी सगरमाथा महिला समूहको अध्यक्षसमेत हुन् । उनी भन्छिन्, ‘घुम्ती कोषमार्फत संस्थाले  सहयोग  गरेको छ । लगानी गरेर कृषि व्यवसाय  गरेका छौँ । समूहमा बसेर ज्ञान, सीपका कुरा सिकेर व्यवहारमा उतारेका छौँ ।’ 

उनले थोरै भए पनि बचत गर्नुपर्छ भन्ने कुरालाई व्यवहारमा उतार्दै भविष्यको योजनाका बारेमा छलफल गरेर काम अगाडि बढ्ने गरेको बताइन् । कुखुरापालन, तरकारी खेती, बङ्गुरपालनलगायत पेसामा समूहका सदस्य आवद्ध भएका छन् । 

घोराही–२ की विपती चौधरी पूर्वकमलरी हुन् । कमलरी छँदा सुखको सास फेर्न नपाएकी उनी अहिले किराना पसल खोलेर बसेकी छिन् । समूहमा आबद्ध भएर ज्ञान आर्जन गर्ने अनि आफूमा लागू गर्दै आएकी उनी कमलरी जीवनबाट मुक्ति पाएपछि जीवन फेरिएको बताउँछिन् । उनले किराना पसलका साथै बाख्रापालन पनि गरेकी छिन् ।

‘अहिले मुक्त कमलरी विकास मञ्चले स्थापना गरेको समूहबाट घुम्ती कोषबाट ऋण लिएर बाख्रापालन गरेको छु,’ उनले भनिन्, ‘घरमा सानो पसल पनि सञ्चालन गरेकी छु । पहिले केही गर्न सक्दैनथेँ अहिले आत्मर्निभर भएकी छु, मसँग आम्दानीको स्रोत भएपछि श्रीमान्सँग पैसा माग्नु पनि परेको छैन । पहिले–पहिले एक–दुई रुपैयाँ पनि कहाँ पाऊ भन्ने हुन्थ्यो, अहिले कमाउन सक्ने भएकी छु ।’

घरमा आइपर्ने समस्या समाधान गर्न सजिलो भएको उनले बताइन् ।

दाङको घोराही उपमहानगरपालिका–२, ४ र ८ मा आइएम स्वीडिस डेभलपमेन्ट पार्टनरको साझेदारीमा मुक्त कमलरी तथा सामाजिक वहिष्करणमा परेका महिलाको सशक्तीकरणमा परियोजनामार्फत गर्दै आएको कामले मुक्त कमलरी, विपन्न महिलाको जीवनमा परिवर्तन आएको छ । तीन वडामा १३ महिला समूह गठन गरिएको छ । यसमा करिब चार सय बढी महिलाको आबद्धता  छ । यतिमात्रै होइन, बालबालिकामा सचेतना बढाउन र भोलिको सुन्दर भविष्य निर्माणका लागि तीनवटै वडामा वडास्तरीय युवा क्लब पनि गठन छ । जसबाट बालविवाह अन्त्य, लैङ्गिक हिंसा निवारणका बारेमा  सचेतना फैलाउने काम हुँदै आएको मञ्चका केन्द्रीय अध्यक्ष हिरामोती चौधरी बताउँछिन् ।

संस्थागतरूपमा हेर्ने हो भने विगतमा सरकारसँग भएको १० बुँदे सम्झौता कार्यान्वयन हुन नसक्दा कमलरी मुक्तिपछिको पुनःस्थापनामा समस्या देखिन्छ ।  सरकार र मुक्त कमलरीबीच विसं २०७० जेठ २४ गते १० बुँदे सहमति भएको थियो । सम्झौता कार्यान्वयनका लागि सरकारसमक्ष निरन्तररूपमा ध्यानाकर्षण गराउने काम गर्दै आएको उनी बताउँछिन् ।

मञ्च कमलरी जीवनबाट मुक्ति पाएको, गरिब, निुमखाको उत्थानका लागि पैरवी गर्न स्थापित संस्थाले खेल्दै आएको भूमिकाका कारण आज धेरै दिदीबहिनीले आफूलाई जीवन बदल्न र सफलताको बाटोमा अग्रसर भएको र समुदायस्तरमा गरिएका कार्यक्रमले सार्थकता पाउँदै गएको उनको तर्क छ । कमलरीको जीवन बदल्न तथा सामाजिक रूपान्तरणमा मुक्त कमलरी विकास मञ्चले निकै ठूलो भूमिका खेल्ने काम गरेको घोराही–२ का वडाध्यक्ष चित्रबहादुर चौधरी बताए ।

मञ्चले थालेका कामले स्थानीय सरकारलाई पनि सहयोग पुगेको घोराही उपमहानगरपालिका नगरप्रमुख नरुलाल चौधरी बताउँछन् । मुक्त गर्ने काम भइसकेपछि अब ती कमलरीको व्यवस्थापनका लागि सरकारले गरिरहेको पहलमा स्थानीय सरकारले विशेष भूमिका निर्वाह गरिराखेको उनले बताए । उनले भने, ‘स्थानीय सरकारले मुक्त कमलरीका बारेमा तालिम नियमितरूपमा गर्दै आएका छौँ । पढिरहेका मुक्त कमलरीको छात्राबासमा बस्न खानको समस्यालाई ध्यानमा राखेर पालिकाभरका त्यस्ता छात्राको व्यवस्थापन गर्ने काम गरेका छौँ ।’

मञ्चले संस्थागत विकासलाई पनि अघि बढाएको छ । मुक्त कमलरीलाई तालिम दिने, उनीहरूलाई सीप प्रदान गर्दै सक्षम बनाउने, पेसा रोजगारमा लगाउने काममा लागिरहँदा घोराही उपमहानगरपालिकाको तर्फबाट पनि नियमित सहयोग र सहकार्य हुँदै आएको छ । आगामी दिनमा पनि यसलाई निरन्तरता दिँदै अझ प्रभावकारी बनाउने उपमहानगरपालिकाले जनाएको छ । 

समूह र युवा क्लबबाट सरोकार निकायबाट पाउनुपर्ने सेवा सुविधाका बारेमा समन्वय हुने गरेको छ । जस्तो वडा कार्यालय, कृषि कार्यालय, स्थानीय तहहरूबाट पाउनुपर्ने सेवा सुविधका बारेमा पहुँच बढाउने काम हुने गरेको छ । युवाको पनि उनीहरुको सहभागिता बढाउनेदेखि सचेतनामूलक कार्यक्रम सञ्चालन हुने गरेको छ ।

पूर्वमुक्त कमलरीको अगुवाइमा विसं २०६७ मा सामाजिक संस्थाका रूपमा स्थापित  मञ्च एक दशकयता सङ्गठितरूपमा दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर जिल्लामा लक्षित वर्गको शिक्षा, सशक्तीकरण, जीविकोपार्जन तथा पुनःस्थापनालगायत हक अधिकारको सवालमा पैरवी गर्दै आएको छ । -रासस
 

प्रकाशित मिति: आइतबार, फागुन २८, २०७९  ११:०८
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार