म मन्त्री बन्दिनँ, बन्न मिल्दैन : गगन थापा
काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले वर्तमान सत्ता गठबन्धनको सरकारमा आफू सहभागी नहुने बताएका छन् ।
आइतबार आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले आफू वर्तमान सरकारमा मन्त्री नबन्ने र बन्न पनि नमिल्ने भन्दै आफू आफ्नो पार्टी सरकारमा जाँदा सरकारलाई सफल बनाउन लाग्ने बताए ।
आफू सरकार कति दिन टिक्यो भन्ने आधारमा सरकारको सफलताको मापन नगर्ने भन्दै सरकारबाट कति परिणाम निस्कियो भन्ने आधारमा सरकारको काम हेर्ने उनले जनाए । सरकारले परिणाम दिन सकेन भने ५ वर्ष खेर जाने उनको भनाइ छ ।
महामन्त्री थापाले राजनीतिक दलहरू खुसी हुँदैमा जनता खुसी हुन्छन् भन्ने भ्रम नपाल्न पनि आग्रह गरे । सरकार बन्ने कुरा प्राथमिकतामा नराखी सरकारले जनतासमक्ष परिणाम दिन सक्नुपर्ने बताउँदै उनले नेपालमा पूर्वप्रधानमन्त्रीहरूको क्लबबाट नै आलोपालो प्रधानमन्त्री अभ्यास रहे पनि सरकारले नागरिकलाई सेवासुविधा दिन सक्नुपर्ने बताए ।
महामन्त्री थापाले सरकारसँग ५ वर्षमा जनताको भरोसा रहन्छ कि रहँदैन भन्ने सोचेर काम गर्नुपर्ने पनि बताए । उनले प्रधानमन्त्री गठबन्धनको नेता नभई सरकारको नेता हुन सक्नुपर्ने धारणा राखे ।