एनआरटी र त्रिभुवन आर्मी तथा मनाङ र मच्छिन्द्रबीच बराबरी
काठमाडौँ– राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा न्युरोड टिम एनआरटी र त्रिभुवन आर्मी क्लबले बराबरी खेलेका छन् ।
आइतबार च्यासल मैदानमा भएको खेलमा एनआरटी र आर्मीले ३–३ गोलको बराबरी खेलेका हुन् ।
खेलको १५औँ मिनेटमा नवयुगले पेनाल्टीबाट गोल गर्दै आर्मीलाई सुरुआती अग्रता दिलाएका थिए ।
तर, खेलको ५२औँ मिनेटमा लालनुनजामाले गोल गर्दै एनआरटीलाई १–१ गोलको बराबरीमा ल्याए । ५७औँ मिनेटमा जिन एन्सर एमबोउमिले पेनाल्टीबाट गोल गर्दा एनआरटी २–१ ले अघि रह्यो ।
खेलको ६२औँ मिनेटमा लालनुनजामाले व्यक्तिगत दोस्रो गोल गर्दा एनआरटी ३–१ ले अघि रह्यो । तर खेलको ६८औँ मिनेटमा सुदिल राईले गोल गर्दै आर्मीलाई ३–२ को स्थितिमा ल्याए ।
खेलको ८६औँ मिनेटमा दिनेश हेन्जनले फ्रिकिकमार्फत गोल गर्दै आर्मीलाई ३–३ गोलको बराबरीमा ल्याए । बराबरीसँगै एनआरटीले ३ खेलमा १ अंक जोडेको छ । आर्मीले ३ खेलमा ५ अंक जोडेको छ ।
त्यस्तै एन्फा कम्प्लेक्स सातदोबाटोमा आइतबार मनाङ मस्र्याङ्दी क्लब र मच्छिन्द्र फुटबल क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।
यस बराबरीसँगै कीर्तिमानी ८ पटकको च्याम्पियन मनाङले ३ खेलमा ५ अंक जोडेको छ । साविक विजेता मच्छिन्द्रले भने पहिलो अंक जोडेको छ । मछिन्द्रले ३ खेलमा १ अंक जोडेको छ ।
प्रतियोगिताअन्तर्गत सोमबार हिमालयन शेर्पा र खुमलटार क्लब तथा थ्री स्टार र सातदोबाटोबीच प्रतिस्पर्धा हुनेछ ।