शान्ति प्रक्रिया टुंग्याउन माओवादी धारका ९ दलको अपिल
काठमाडौँ– माओवादी धारका ९ राजनीतिक दलले आवश्यक कानुन बनाई शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न सरकारसमक्ष अपिल गरेका छन् ।
आइतबार काठमाडौँमा आयोजना गरिएको पत्रकार सम्मेलनमार्फत् संयुक्त अपिल जारी गर्दै माओवादी धारका ९ राजनीतिक दलले आवश्यक कानुन बनाई अविलम्व शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न माग गरेका हुन् ।
दलहरूले विस्तृत शान्ति सम्झौता र नेपालको संविधानले द्वन्द्वकालीन घटनाहरूको निरुपण गर्ने जिम्मेवारी सत्य निरुपण तथा मेलमिलाप आयोगलाई दिएको भन्दै संवैधानिक व्यवस्थाभन्दा बाहिर जानु शान्ति सम्झौताका विरुद्ध हुने बताएका छन् ।
यसरी संयुक्त अपिल गर्नेहरूमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी(क्रान्तिकारी–माओवादी), नेपाल समाजवादी पार्टी, नेपाल कम्युनिस्ट पार्टी र आम जनता पार्टी छन् ।
त्यसैगरी नेपाल कम्युनिस्ट पार्टी (बहुमत), वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपाल कम्युनिस्ट पार्टी (माओवादी समाजवादी) र माओवादी कम्युनिस्ट पार्टी, नेपाल पनि छन् । उनीहरूले कानुन परिमार्जनसहित आयोगलाई पूर्णता दिई शान्ति प्रक्रियाका बाँकी काम यथाशीघ्र पूरा गर्न सरकारसँग माग गरेका छन् ।
९ दलले विस्तृत शान्ति सम्झौताका पक्षधर राजनीतिक दलहरू, नागरिक समाज एवं आमसमुदायलाई संक्रमणकालीन न्यायको पक्षमा ऐक्यबद्धताका लागि अपिलसमेत गरेका छन् ।
त्यस्तै, विगतमा राज्यले विभिन्न राजनीतिक दलहरूसँग गरेका सहमति कार्यान्वयनका लागि पनि सरकारसँग माग गरिएको छ ।