राष्ट्रपति भण्डारीद्वारा शीर्ष नेताहरूसँग सामूहिक भेटवार्ता
काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले सबै दलका अध्यक्ष तथा सभापतिहरूसँग चियापानसहित सामूहिक भेटवार्ता गरेकी छन् ।
नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित प्रमुख राजनीतिक दलका प्रमुखहरूसँग राष्ट्रपति भण्डारीले सामूहिक भेटघाट र चियापान गरेको उनका प्रेस विज्ञ टीकाप्रसाद ढकालले जानकारी दिए ।
ढकालका अनुसार सामूहिक भेटवार्तामा अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राप्रपाका राजेन्द्र लिङ्देन, जसपाका अध्यक्ष उपेन्द्र यादव, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ, लोसपाका अध्यक्ष महन्थ ठाकुर उपस्थित थिए ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल भाइको शोकमा रहेका कारण उपस्थित भएनन् ।उपत्यकाबाहिर रहेका कारण जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको उपस्थिति भएनन् । त्यस्तै, जनमत पार्टीका अध्यक्ष सीके राउत कार्यक्रममा व्यस्त भएको भन्दै सहभागी भएनन् ।
भेटमा राष्ट्रपति भण्डारीले आफ्नो दोस्रो कार्यकाल सफल बनाउन सहकार्य र सहयोग गरेकोमा विभिन्न कार्यकालका प्रधानमन्त्रीहरू, राजनीतिक नेतृत्व र सम्बद्ध सबै दलहरुलाई धन्यवाद दिएकी छन् । त्यस्तै, शीर्ष नेताहरूले उनको कार्यकाल सफलतापूर्वक पूरा गरेको बधाई दिएका थिए ।
नवनिर्वाचित राष्ट्रपतिको सपथ ग्रहण सोमबार दिउँसो १ बजे शीतल निवासमा तय गरिएको छ ।