१६ सय किलोमिटर क्षेत्रमा अप्टिकल फाइबर जडान
काठमाडौं–देशभर सूचना महामार्ग (अप्टिकल फाइबर ब्याकबोन नेटवर्क) बिस्तारको परियोजनाअन्तर्गत हालसम्म १ हजार ६०० किलोमिटरभन्दा बढी क्षेत्रमा फाइबर जडान सम्पन्न भएको छ ।
नेपाल दूरसञ्चार प्राधिरकणले दुई वर्षभित्रमा महामार्ग बिस्तार गरिसक्ने भन्दै सुरु गरेको योजनाअन्तर्गत माघ मसान्तसम्म १ हजार ६७१ किलोमिटर क्षेत्रमा फाइबर बिस्तार भएको हो ।
नेपाल टेलिकमले जिम्मा पाएको कोसी, मधेस र वाग्मती प्रदेश तथा कर्णाली र सुदूपश्चिम खण्डमा कछुवाको गतिमा फाइबर बिस्तारको काम भएको छ ।
कोसी, मधेस र वागमती गरी टेलिकमले तीन प्रदेशमा २ हजार ८३ किलोमिटर फाइबर बिछ्याउनुपर्नेमा माघ मसान्तसम्म एक हजार ३४१ किलोमिटर फाइबर बिछ्याएको छ । दुई वर्षमा सक्नेगरी सम्झौता भएकोमा टेलिकमले पाँच वर्षको अवधिमा ६१ दशमलव ५४ प्रतिशत मात्र जडान गरेको हो ।
प्राधिकरणले पहिलो खण्डअन्तर्गत नेपाल टेलिकमसँग पूर्वी नेपालदेखि गोरखासम्म फाइबर बिछ्याउन २०७३ साल असोज १२ गते दुई वर्षको सम्झौता गरेको थियो । तर, टेलिकमले २०७६ जेठ पहिलो सातादेखि अप्टिकल फाइबर बिछ्याउने काम सुरु गरेको हो ।
यस्तै, टेलिकमले प्याकेज–३ अन्तर्गतको कर्णाली र सुदूपश्चिम खण्डमा एक हजार ९९२ किलोमिटर क्षेत्रमा फाइबर जडान गर्नुपर्नेमा हालसम्म ३३० किलोमिटर क्षेत्रमा मात्र जडान कार्य सम्पन्न भएको छ ।
कर्णाली र सुदूपश्चिममा फाइबर बिछ्याउन प्राधिकरणले स्मार्ट टेलिकमलाई जिम्मेवारी दिए पनि काम सुरु गर्न नसकेको भन्दै प्राधिकरणले पुनः नेपाल टेलिकमलाई जिम्मा दिएको थियो । विसं २०७४ भदौ ३ गते दुई वर्षका लागि स्मार्टलाई जिम्मा दिए पनि प्राधिकरणले २०७६ कात्तिक ३ गते ठेक्का सम्झौता रद्द गरी २०७६ साल पुस १९ गते नेपाल टेलिकमसँग सम्झौता गरेको थियो ।