Nic Ad Nic Ad
Nic Ad Nic Ad

खन्ती–जोमसोम सडक कालोपत्र सुुरु

सोमबार, फागुन २९, २०७९

मुस्ताङ–मुस्ताङको थासाङ गाउँपालिकाको केन्द्र खन्तीदेखि जिल्ला सदरमुकाम जोमसोम जोड्ने सडक कालोपत्र सुरु भएको छ । 

राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर, बेनी–जोमसोम–कोरला सडक आयोजनामार्फत १६ किलोमिटर ५ सय मिटर दूरीको खन्ती–जोमसोम खण्ड कालोपत्रको काम सुरु भएको हो ।

आयोजना प्रमुख जगत प्रजापतिले ठेकेदार कम्पनी गौरी–पार्वती जेभीले जेभीले खन्तीदेखि जोमसोमतर्फ आस्कपाल्ट प्रविधिको कालोपत्र गर्न थालेको जानकारी दिए ।

‘१ किलोमिटरभन्दा बढी सडक कालोपत्र गरिसकेको छ’, उनले भने, ‘ठेकेदारसँग हाल ४ किलोमिटर कालोपत्र गर्न पुग्ने बिटुमिन मौज्दात छ । थप बिटुमिन र अन्य सामग्री जुटाएर जोमसोमसम्म कालोपत्र गर्ने प्रतिबद्धता जनाएको छ ।’

विस्तार, नाली र पर्खाल निर्माण सकेर ग्राभेल भएको ठाउँमा ११ मिटर चौडाइका दरले कालोपत्र हुन लागेको हो । यो सडक कालोपत्र गर्न २०७३ सालअसारमा पप्पु–गौरी–पार्वती–कोसी एण्ड न्यौपाने जेभीले ९९ करोड ६२ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । 

साझेदार मध्य पप्पु र कोसी एण्ड न्यौपानेका सञ्चालकले काम नगरेपछि १ वर्षदेखि रोकिएको सडक निर्माण गौरी एण्ड पार्वतीले पूर्णता दिन लागेको आयोजनाले जनाएको छ । सडक निर्माणको काम अलपत्र पारेका सञ्चालक सम्पर्कमा नआएपछि आयोजनाले गत पुसमा कालोसूचीमा राख्ने चेतावनीसहितको सूचना जारी गरेको थियो । 

कालोसूचीबाट जोगिनका लागि गौरी पार्वतीले काम अघि बढाउने जिम्मेवारी लिएको छ । गौरी पार्वतीले आयोजनाअन्तर्गतनै ठेक्का लिएको चराङ–छोसेर खण्डको २५ किलोमिटर खण्डको काम पनि अघि बढाउन लागेको आयोजना प्रमुख प्रजापतिले बताए ।

ग्राभेलका लागि ५८ करोड २६ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको यो खण्डको ९० प्रतिशत निर्माण सकिएको छ ।
 

प्रकाशित मिति: सोमबार, फागुन २९, २०७९  ०८:०७
प्रतिक्रिया दिनुहोस्