एन्फासँग मुख्य प्रशिक्षक भिन्सेन्जोले गरे सम्झौता
काठमाडौं –नेपाली राष्ट्रिय फुटबल टिमका नवनियुक्त मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनीसले अखिल नेपाल फुटबल संघ (एन्फा)सँग १ वर्षको सम्झौता गरेका छन् ।
प्रशिक्षक भिन्सेन्जोले एन्फासँग एक वर्षको सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । भिन्सेन्जो र एन्फाका महासचिव किरण राईले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
दुई हप्ता अघि एन्फाको कार्यसमिति बैठकले इटालीका भिन्सेन्जोलाई मुख्य प्रशिक्षक नियुक्त गर्ने निर्णय गरेको थियो । मुख्य प्रशिक्षकका लागि १ सय ६८ जनाको आवेदन आएको थियो । जसमा पदपूर्ति समितिले २० जनालाई सर्टलिस्ट गरेको थियो । ३८ वर्षीय अनुभवी प्रशिक्षक भिन्सेन्जोले यस अघि बेलिजको राष्ट्रिय फुटबल टिम हेरेका थिए ।
यूईएफए प्रो लाइसेन्स प्राप्त प्रशिक्षकले भारतीय क्लब गोकुलम केरलालाई दुई पटक आई लिगको उपाधि दिलाएका थिए । मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले गत भदौमा राजीनामा दिएपछि नेपाली टोली मुख्य प्रशिक्षकविहीन रहेको थियो ।