नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले लिए शपथ
काठमाडौं–नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । राष्ट्रपतिको कार्यालयमा सोमबार आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले शपथ ग्रहण गरेका हुन् ।
समारोहमा उपराष्ट्रपति नन्दकिशोर पुन पासाङ, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रियसभाका अध्यक्ष तथा अन्य विभिन्न विशिष्ट व्यक्तित्वहरूको उपस्थिति छ ।
नेपालको संविधानमा राष्ट्रपतिले आफ्नो कार्यभार सम्हाल्नु अघि सङ्घीय कानुनबमोजिम प्रधानन्यायाधीशसमक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्ने व्यवस्था छ ।
हाल प्रधानन्यायाधीश पद रिक्त रहेकाले नवनिर्वाचित राष्ट्रपति पौडललाई कामु प्रधानन्यायाधीश कार्कीले शपथ गराएका हुन् ।
नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्वसभामुख पौडेल २५ फागुनमा राष्ट्रपति पदमा निर्वाचित भएका हुन् ।
नयाँ राष्ट्रपतिको शपथसँगै निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले शितलनिवास छाड्नेछिन् । उनी सोमबार र्नै आफ्नो निजी निवास बूढानिलकण्ठ सर्ने बताइएको छ ।
नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्वसभामुख पौडेल आफ्ना प्रतिस्पर्धी नेकपा (एमाले)का उपाध्यक्ष एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङलाई दोब्बरभन्दा बढी मतले पराजित गरी निर्वाचित भएका थिए । मतदानमा पौडेलले ३३ हजार आठ सय दुई र नेम्वाङले १५ हजार पाँच सय १८ मतभार प्राप्त गरेका थिए ।
२००१ साल असोज २९ गते तनहुँको ब्यासमा जन्मेका पौडेल आफ्नो ६३ वर्षे सक्रिय राजनीतिक यात्रा पार गर्दै अब राष्ट्रप्रमुख बनेका छन् । कांग्रेस पार्टीबाट ६ दशक अनवरत प्रजातान्त्रिक आन्दोलनमा संलग्न रहेका पौडेल अब संबैधानिक राष्ट्रप्रमुखको रुपमा सबैको साझा भएर काम गर्ने जिम्मेवारीमा आइपुगेका छन् ।
पौडेल ६ पटक सांसद, ५ पटक मन्त्री र एकपटक प्रतिनिधिसभाको सभामुख बनेका हुन् । २०६६ सालमा प्रधानमन्त्री बन्नका लागि संसदमा १७ पटकसम्म चुनावी प्रतिस्पर्धामा भाग लिएपनि जित हासिल गर्न नसकेका पौडेल नौ दलीय सत्ता गठबन्धनले साझा उम्मेदवार बनाएपछि पहिलो प्रयासमै राष्ट्रपति बन्न सफल भए ।