निवर्तमान राष्ट्रपति भण्डारी शीतलनिवासबाट भइन् बिदा [तस्बिरसहित]
काठमाडौं–निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रपति भवन शीतलनिवासबाट बिदा भएकी छन् । नवनियुक्त राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ लिएसँगै निवर्तमान राष्ट्रपति भण्डारी शीतलनिवासबाट बिद भएकी हुन् । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई उनले पद हस्तान्तरण गरेकी थिइन् ।
प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार निवर्तमान राष्ट्रपति भण्डारीलाई उपहारसहित बिदाइ गरे । निवर्तमान राष्ट्रपति भण्डारीलाई नवनियुक्त राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति नन्दकिशोर पुन, कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायतले बिदाइ गरे ।
निवर्तमान राष्ट्रपति भण्डारीको बिदाइमा नेपाली सेनाले २१ तोपको सलामी दिएको थियो । राष्ट्रपतिमा भण्डारी पहिलो कार्यकालका लागि २०७२ कार्तिकमा निर्वाचित भएकी थिइन् । पहिलो कार्यकाल करिब २२ महिनाको थियो । उनी दोस्रो कार्यकालका लागि २०७४ फागुन २९ मा निर्वाचित भएकी थिइन् ।
राष्ट्रपतिको निर्वाचन फागुन २५ गते भएको थियो‚ जसबाट रामचन्द्र पौडेल निर्वाचित भएका थिए ।