पानी अभावका कारण हाँसीपुरबासीलाई २ ठाउँमा सर्नुपर्ने बाध्यता
घोराही– दाङको घोराहीदेखि करिब २७ किलोमिटर पूर्व–दक्षिणमा पर्ने हाँसीपुर बंगलाचुली गाउँपालिका–८ विकट र पहाडी बस्ती हो ।
यहाँका अधिकांश बासिन्दा पानीको अभावका दुई ठाउँमा बस्दै आएका छन् । पानी नहुँदा यहाँ पशुपालन तथा अन्नपात उत्पादनसमेत हुँदैन ।
खानेपानी, अन्नपातका साथै पशुपालनका लागि समस्या हुन थालेपछि अधिकांश स्थानीयबासी पहिलेदेखि नै २ ठाउँमा बस्दै आएका हुन् ।
हाँसीपुरलाई मूल थलो बनाए पनि पशुपालन, खेती र घाँस दाउराका लागि सोही वडाको सालबास, गुराँसे र भुल्केमा यहाँका मानिसको बसोबास रहेको स्थानीयबासी शर्मिला गाहामगरले बताइन् ।
उनका अनुसार सालबास, गुराँसे र भुल्केमा बसेर मौसमअनुसार खोलाका किनारामा खेतीपातीसँगै गाईभैँसी, बाख्रा पालन गरिँदै आएको छ ।
यहाँ रहेका करिब ७० घरमध्ये ८५ प्रतिशत मगर समुदायको बसोबास छ । भौगोलिक विकटताका कारण केही वर्ष अघिसम्म सडक, शिक्षा, स्वास्थ्य, विद्युत्, खानेपानीलगायत विकासका पूर्वाधारबाट यहाँका बासिन्दा वञ्चित थिए ।
अहिले सडक, विद्युत्, खानेपानी, शिक्षा, स्वास्थ्यलगायत सुविधा उपलब्ध भए पनि नियमित सेवा नहुँदा सास्ती भोग्नुपरेको स्थानीयबासीले बताए ।
विकासको पहिलो आवश्यकताका रूपमा रहेको सडक सञ्जाल विस्तारले केही सहज भए पनि नियमित सेवा नहुँदा समस्या हुने गरेको सोही ठाउँ निवासी कमल विश्वकर्माले बताए ।
‘भौगोलिक विकटताका कारण बाटो सहज छैन, एक झरी पानी पर्नेबित्तिकै बाटो बिग्रिने हुँदा गाडी चल्दैनन्,’ उनले भने, ‘पानी प¥यो भने सिमलतारासम्म मात्रै बस आउँछ, यता आउँदैन ।’
गाउँमा हाँसीपुर स्वास्थ चौकी भए पनि जनशक्ति र औषधि अभावका कारण यहाँका बासिन्दा घोराही पुग्ने गरेको स्थानीयबासी गोपाल गाहामगरले बताए ।
‘सामान्य बिरामी हुँदा जाँचसँगै औषधिका लागि स्वास्थ्यचौकी जाने हो । कहिले औषधि त कहिले कर्मचारी नै हँुदैनन्, त्यसैले घोराही जानुपर्ने बाध्यता छ,’ उनले भने ।
गाउँमा अहिले खानेपानीको समस्याका साथै सञ्चार सुविधा नहुँदा कृषिका लागि सिँचाइको सुविधा छैन । ‘खानेपानीको धारा बनेको छ, अब गर्मीयाम सुरु भएसँगै धारामा पानी आउँदैन । खोलाबाट पानी ल्याएर पिउनु पर्छ,’ गोपालले भने ।
उनका अनुसार यहाँ १० कक्षाभन्दा माथि पढ्ने विद्यालय छैनन् । जनप्रतिनिधिलाई जानकारी गराउँदा सुनुवाइ नभएको उनको गुनासो छ ।