वीर गणेशमान सिंह दौड र बक्सिङ प्रतियोगिता हुने
काठमाडौँ– वीर गणेशमान सिंह स्पोर्टस् कमिटीले चैतमा १० किमी दौड र बक्सिङ प्रतियोगिता आयोजना गर्ने भएको छ ।
सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै कमिटीले चैत ११ गते शनिबार चौथो वीर गणेशमान सिंह १० किमी दौड र चैत २१ गतदेखि २५ गतेसम्म वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगिता आयोजना गर्न लागेको जनाएको हो ।
काठमाडौँको दरबारमार्गस्थित शेर्पा मलबाट सुरु हुने १० किमी रोड रेसमा महिला र पुरुषतर्फ प्रतिस्पर्धा हुनेछ भने महिला पुरुष विजेताले ६० हजार, उपविजेताले ३० हजार र तेस्रोले १५ हजार पाउने छन् । त्यस्तै, चौथो हुनेले १० हजार र पाँचौँले ५ हजार पाउने छन् ।
यस्तै, वसन्तपुरमा आयोजना हुने बक्सिङ प्रतियोगितामा महिला र पुरुषमा ६÷६ तौल समूहमा प्रतिस्पर्धा हुनेछ । बक्सिङमा पहिलो हुनेले २५ हजार, दोस्रोले १५ हजार र तेस्रोले समान ७ हजार ५ सय पाउने कमिटीले जनाएको छ ।
प्रतियोगिता सम्पन्न गर्न करिब ४५ लाख रुपैयाँ लाग्ने आयोजकको अनुमान छ ।