Nic Ad Nic Ad
Nic Ad Nic Ad

यही टोलीले जिम्बाबे यात्रा तय गर्छ : सन्दीप लामिछाने

सोमबार, फागुन २९, २०७९

काठमाडौँ– स्पिनर सन्दीप लामिछानेले मोन्टी देशाईले नेपाली टोली सम्हालेपछि टोली सकारात्मक तरिकाले अगाडि बढिरहेको र यही टोलीले जिम्बाबे यात्रा गर्ने विश्वास व्यक्त गरेका छन् ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा सोमबार सम्पन्न खेलपछिको पत्रकार सम्मेलनमा बोल्दै नेपाली टोलीका स्पिनर लामिछानेले अहिलेको टोली सकारात्मक तरिकाले अगाडि बढिरहेको बताएका हुन् ।  

उनले केही समयअघि नेपाली टोली कठिन अवस्थामा रहेको र नयाँ प्रशिक्षकको आगमनसँगै टोलीले नयाँ गति लिएको बताए ।

यही टोलीमा खेलाडीबीच राम्रो तालमेल रहेको भन्दै आगामी दिनमा नेपाली क्रिकेट राम्रो हुने प्रतिक्रिया दिए । 

नेपालले सोमबार पिएनजीबिरुद्ध ९ विकेटको फराकिलो जित निकाल्दा नेपाल अब विश्वकप छनोट पुग्न एक कदम मात्र टाढा छ ।

सन्दीपले यही खेलमा ५ विकेट निकाल्दा प्लेयर अफ दि म्याच पनि घोषित भए । 

यस्तै, अर्का स्पिनर ललितनारायण राजवंशीले सन्दीप सम्मिलित टोलीमा २ स्पिनरबीच अट्याकिङ र रन रोक्ने रणनीतिमा तालमेल बनाउँदै खेल सहज हुने बताए ।  

उनले प्रशिक्षकको रणनीति अनुसार खेल्न पाउँदा आफू खुसी रहेको प्रतिक्रिया दिए ।

नेपालका लागि अर्धशतकीय पारी खेल्दै जित दिलाएका ओपनर आसिफले सहज बललाई खेल्ने र कठिन बललाई सामना मात्र गर्ने रणनीति भए पनि परिस्थितिअनुसार खेल्दा पिएनजीविरुद्ध सहज सफलता मिलेको बताए ।

ओपनरका रूपमा मैदान प्रवेश गर्दा आफ्नो मानसिकता धेरै रन बटुल्ने हुने र टिमको मनोबल उच्च बनाउने हुने गरेको आसिफले बताए ।  

अर्का ओपनर कुशल भुर्तेलले हरेक खेल महत्त्वपूर्ण हुने भन्दै आफ्नै शैलीमा खेल्दा आफूलाई सफलता मिलेको बताए ।

प्रशिक्षकलाई कुन खेलाडीबीच कस्तो तालमेल हुने र कस्तो खेल्ने थाहा भइसकेको र सोअनुसार रणनीति बनाउने गरेको बताए । प्रशिक्षकको रणनीतिअनुसार खेल्न आफू सफल भएको प्रतिक्रिया दिए । 

लिग–२ अन्तर्गत अब नेपालले अन्तिम खेल युएईसँग बिहीबार खेल्नेछ । त्यसअघि बुधबार युएई र पिएनजीबीच खेल हुने तालिका छ ।
 

प्रकाशित मिति: सोमबार, फागुन २९, २०७९  १५:५७
प्रतिक्रिया दिनुहोस्