पशुपतिनाथमा दुरुच्याँच्याँ जात्रा मंगलबारबाट सुरु
काठमाडौँ– पशुपतिनाथ मन्दिर क्षेत्रमा मंगलबार (भोलि) देखि वत्सलेश्वरी–बज्रेश्वरी (दुरुच्याँच्याँ) जात्रा सुरु हुने भएको छ ।
पशुपति क्षेत्र विकास कोषले सोमबार पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराएको हो ।
कोषले भोलि साँझ ५ बजेबाट जात्रा प्रारम्भ हुने र पशुपतिनाथ क्षेत्रमा ११ दिनसम्म जात्रा जारी रहने बताएको छ ।
चैत्र कृष्णाष्टमी–शीतला अष्टमीमा सुरु भइ चैत्र शुक्ल तृतियामा सम्पन्न हुने यो जात्रा साझा जात्राको रुपमा मनाउने गरिन्छ । यो जात्रा लिच्छवीकालदेखि नै मनाउने गरिएको मान्यता छ ।
यो जात्रा पशुपतिनाथ मन्दिर परिसरबाट लगनलाक्षी र भुवनेश्वरी हुँदै भकुनटोल पुग्दा भुवनेश्वरीका गुठियार कर्माचार्यले निमन्त्रणा जात्रामा चढाउने पूजा भोग अर्पण गर्ने गर्दछन् ।
यात्रा अवधिभर बाटोमा चीराग बाल्ने तथा बाटोमा पर्ने देवीदेवताहरुलाई धुप बालेर पूजा गर्ने गरिन्छ । बालकुमारी, इँटापाखा र जयवागेश्वरी मन्दिरलाई दायाँ पारेर नवारीटोल, भगवती, भगवतीवहाल भण्डारेश्वर महादेवको प्रदक्षिणा गरिन्छ । नक्शाल भगवती, भगवतीवहाल, नक्शाल चारढुंगे, नागपोखरी, हात्तीसार, लालदरबार पूर्वको गल्ली र तीनधारा पाठशाला हुँदै कमलाक्षी पुग्ने परम्परा रहेको छ ।
कमलाक्षीबाट असन अन्नपूर्ण मन्दिर परिक्रमा गराइ बालकुमारी, इन्द्रचोक, मखन, हनुमानढोका, मजिपाट र चिंकमुगल हुँदै जैशीदेवल लैजाने परम्परा रहेको छ ।
पत्रकार सम्मेलनमा बोल्दै पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाले पशुपतिनाथ जात्राहरुको थलो भएकाले यसको संरक्षण र संवद्र्धनको आवश्यक्ता रहेको बताए ।
उनले पाशुपत क्षेत्रबाट शुरु हुने भएकाले यो जात्रालाई स्थानीय जात्रा भनेपनि यो मुलुकभर हुने जात्रा रहेको बताए । उनले यो जात्रालाई कोषले मुलककै जात्राको रुपमा विकास गर्ने र जात्रा हेर्न आउने विदेशीहरुका लागि आवश्यक सहयोग र फोटो खिचेर आफ्ना क्षेत्रमा प्रचार गर्नसक्ने वातावरण सिर्जना गर्ने बताए ।
उनले भने, ‘वत्सलेश्वरी माईको जात्रा गर्दा किन गरिन्छ ? कुन प्रकारको शक्तिबाट राष्ट्रका विभिन्न शक्तिहरुको जात्रा किन गरिन्छ भन्ने खोज्ने थलो यही हो । विभिन्न जात्राहरुको थलो यही हो । भन्दा हामीले स्थानीय भन्यौँ, किनभने पाशुपत क्षेत्रबाट शुरु हुने भएकाले स्थानीय भनियो,तर यो देशभरको जात्रा हो । यहाँ मात्रै ११ दिन चल्छ, पशुपतिको दुरुच्याँचा जात्रा प्रारम्भ भइसकेपछि देशभरका जात्राहरुको पर्व शुरु हुन्छ । यो मुलुककै जात्रा हो, यसलाई हामी मुलुककै जात्राको रुपमा विकास गर्न चाहन्छौँ ।’
जात्रा सञ्चालनका लागि परिषद् सदस्य अर्जुनप्रसाद बास्तोलाको संयोकत्वमा १३ जनाको पर्व सञ्चालन एवं समन्वय समिति पनि गठन भएको छ ।