साप्सुखोला–विजयखर्क खानेपानी आयोजनाको काममा लापरबाही
खोटाङ– जिल्लाको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कमा सञ्चालित लिफ्टिङ खानेपानी आयोजनाको काममा लापरबाही भएको पाइएको छ ।
नेपाल सरकार, सङ्घीय खानेपानी मन्त्रालयको रु २९ करोड १३ लाखको लागतमा सञ्चालित साप्सुखोला–विजयखर्क–बसेरी लिफ्टिङ खानेपानी आयोजनामा ठेकेदार कम्पनी ‘सगरमाथा ड्रिलिङ एन्ड कन्स्ट्रक्सन कम्पनी’ र उपभोक्ता समितिले लापरबाही गरेको देखिएको छ ।
विसं २०७९ असारमा सम्झौता गरेर निर्माण अघि बढाइएको उक्त आयोजनाअन्तर्गत हाल ट्याङ्की निर्माण र पानी वितरण लाइनको भइरहेको छ । निर्माणाधीन अवस्थामै ट्याङ्की चर्किएका छन् भने पाइप लाइनको काम पनि मापदण्डविपरीत भएको निरीक्षणका क्रममा देखिएको छ ।
स्वास्थ्य चौकीडाँडामा निर्माणाधीन ट्याङ्की भत्किन थालेको छ । ठेकेदार कम्पनीले गुणस्तरहीन निर्माण सामग्री प्रयोग गरेका कारण समस्या भएको स्थानीय कमला ढकालले बताए । सम्झौताविपरित निर्माणको काम भइरहेको पाइएको छ । विसं २०८१ साउनमा पूरा गर्नुपर्ने उक्त आयोजनाबाट पाँच सय २३ परिवार लाभान्वित हुनेछन् । ठकेदार र उपभोक्ता समितिको लापरबाहीका कारण गणस्तरीय काम नभएको स्थानीय युवराज कार्कीले बताए ।
गुणस्तरीय काम नभएपछि स्थानीयले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्रसमेत बुझाएका छन् । आयोजनाको काम गुणस्तरीय कायम गराउन आफू निरन्तर लागिपरेको खानेपानी आयोजना उपभोक्ता समितिका अध्यक्ष सरोज राईको भनाइ छ ।