बेलायत हिँडे मेयर बालेन
काठमाडौँ– काठमाडौँ महानगरपालिकाका प्रमुख (मेयर) बालेन्द्र शाह बालेन स्वस्थ्य सहर शिखर सम्मेलनमा भाग लिन बेलायत प्रस्थान गरेका छन् । उनी चैत ५ गते स्वदेश फर्कने उनको सचिवालयले जनाएको छ । यस अवधिका लागि उपप्रमुख सुनिता डंगोललाई कार्यवाहक प्रमुखको जिम्मेवारी दिइएको छ ।
बेलायत प्रस्थानका क्रममा त्रिभुवन विमानस्थलको विशिष्ट कक्षबाट मेयर शाहलाई महानगरका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले विदाइ गरेका थिए ।
गएराति २ बजेको उडानबाट सम्मेलनमा गएका मेयर शाहसँग स्वास्थ्य सल्लाहकार डा जगदीश अग्रवाल, वडा २४ का अध्यक्ष विनोद राजभण्डारी र स्वकीय सचिव भूपदेव शाह छन् ।
विदाइका लागि वडा ११ का अध्यक्ष हिरालाल तण्डुकार, प्रशासन विभागका प्रमुख दीपक अधिकारी, प्रमुखको सचिवालय प्रमुख नुरनिधि न्यौपाने, अन्तरराष्ट्रिय सम्बन्ध सचिवालयका प्रमुख सुदर्शन भट्टराईसहित अधिकारीहरू विमानस्थल गएका थिए ।
आजदेखि चैत २ गतेसम्म हेल्दी सिटीज समिट इन लन्डन शिखर सम्मेलन हुँदैछ । सम्मेलनमा भाग लिन मेयरसँगै, साझेदार सहरबाट प्राविधिक सत्रमा सामेल हुन निमन्त्रणा गरिएको थियो ।
ब्लुमबर्ग फिलान्थ्रोपिज र विश्व स्वास्थ्य संगठन आयोजक रहेको सम्मेलनको सहआयोजनामा लन्डनका मेयर छन् । शिखर सम्मेलनले मेयर र सहरका प्राविधिक कर्मचारीहरूलाई गैरसंक्रामक (नसर्ने खालका रोग) र चोट पटकका कारण मानव स्वास्थ्यमा सिर्जना भएको विश्वव्यापी बोझसँग कसरी लड्ने भन्ने विषयमा छलफल हुनेछ । सम्मेलनबाट आएका निचोडले स्वस्थ्य सहर निर्माण गर्न अग्रणी रणनीति प्रदान गर्ने विश्वास लिइएको छ ।
विश्वमा सहरीकरण तीब्र गतिमा फैलिएको छ । अस्वस्थ्य सहरी आचरण र दुर्घटनाहरू बढ्दै जाँदा, सहरी केन्द्रहरूमा बस्ने मानिस नसर्ने रोगका कारण मृत्युबरण गरिरहेका छन् । हृदय रोग, स्ट्रोक, क्यान्सर, मधुमेह, पुरानो श्वासप्रश्वासका रोगहरू मानव मृत्युको कारण बनेका छन् । विश्वव्यापी रूपमा हेर्दा सबै मृत्युमध्ये ८० प्रतिशत मृत्यु चोटका कारण भइरहेको छ ।
सहरहरूमा बसोबास गर्ने मानिसहरू नसर्ने रोगबाट आफूलाई बचाउन कमजोर हुँदै गएका छन् । यसबेला जीवन बचाउने र स्वस्थ सहर निर्माण गर्ने विषयमा साझा रणनीति चाहिएको छ । शिखर सम्मेलनले स्वस्थ्य र जीवन्त सहरहरू निर्माण गर्ने उत्कृष्ट अभ्यासमा छलफल गर्नेछ ।
सम्मेलनबाट मेयर र प्राविधिकको प्रतिनिधिमुलक सञ्जाल निर्माण हुनेछ । यसमार्फत नसर्ने खालका रोग र चोटपटक कम गर्ने रणनीति र उपायका क्षेत्रमा सहकार्य हुने बताइएकाे छ ।