Nic Ad Nic Ad
Nic Ad Nic Ad

बैंक तथा फाइनान्सले ब्याजदर घटाए

मंगलबार, फागुन ३०, २०७९

काठमाडौँ –वाणिज्य, विकास बैंक तथा फाइनान्स कम्पनीले बुधबारदेखि लागू हुने गरी ब्याजदर घटाएका छन् ।

वाणिज्य बैंकहरूको छाता सङ्गठन नेपाल बैंकर्स सङ्घले चैतमा कर्जा र निक्षेपकोे ब्याजदर घटाउने निर्णय गरेको थियो । बैंक तथा वित्तीय संस्थाले मङ्गलबार सूचनामार्फत यसको जानकारी दिएका हुन् ।

बुधबार १ चैतदेखि निक्षेपमा शून्य दशमलब ४ प्रतिशत र कर्जामा १ प्रतिशत प्रिमियम दर घटाउने निर्णय भएको सङ्घका अध्यक्ष सुनिल केसीले जानकारी दिए । उनले सङ्घ ऋणको ब्याजदर घटाउनमा केन्द्रित भएको बताए । 

हाल बैंकहरूले कर्जामा आधारदरमा ६ प्रतिशतसम्म प्रिमियम लिने गरेका थिए । अब १ प्रतिशत घटेपछि आधारदरमा ५ प्रतिशतसम्म प्रिमियम दर तोक्नेछन् ।

यस्तै, निक्षेपतर्फको साधारण बचतमा न्यूनतम ६ प्रतिशतदेखि अधिकतम ८ प्रतिशतसम्म ब्याज दिनेछन् । यसअघि साधारण बचतमा न्यूनतम ६ दशमलब ४२ प्रतिशतदेखि अधिकतम ८ दशमलब ४२ प्रतिशतसम्म ब्याजदर तोकिएको थियो । मुद्दती निक्षेपको ब्याजदर भने स्थिर राखिएको छ । हाल बैंकहरूले मुद्दती निक्षेपमा ११ प्रतिशत ब्याज दिइरहेका छन् ।

यस्तैगरी, संस्थागततर्फ ९ प्रतिशत र रेमिट्यान्स मुद्दती खातामा १२ प्रतिशत ब्याजदर तोकिएको छ । यस्तै, विकास बैंकहरूको छाता सङ्गठनका रूपमा रहेको डेभलपमेन्ट बैंकर्स एसोसिएसनले चैतका लागि मुद्दती निक्षेपको ब्याजदर शून्य दशमलव २५ प्रतिशतसम्म घटाएको छ ।

सङ्घको निर्णयअनुसार विकास बैंकहरूले चैत महिनादेखि १ वर्षे वा सोभन्दा माथिको व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ११ दशमलव ६० प्रतिशत कायम गरेको छ । त्यस्तै, १ वर्षभन्दा कमको मुद्दती निक्षेपको ब्याजदर ११ दशमलव ५० प्रतिशत कायम भएको छ ।

हाल विकास बैंकहरूले १ वर्षे वा सोभन्दा बढी दुवैको व्यक्तिगत मुद्दती निक्षेपमा ११ दशमलव ७५ प्रतिशत ब्याजदर दिँदै आएका थिए ।

यसैगरी, ब्याजदर घटाएसँगै विकास बैंकहरूले चैतमा १ वर्षे वा सोभन्दा माथिको संस्थागत मुद्दती निक्षेपमा ९ दशमलव ६० प्रतिशत र साधारण बचतमा न्यूनतम ६ दशमलव ६० प्रतिशतदेखि ८ दशमलव ६० प्रतिशत ब्याजदर प्रदान गर्नेछन् ।

त्यसैगरी, नेपाल वित्तीय संस्था सङ्घ (फाइनान्स) ले मुद्दती निक्षेपको ब्याज दर शून्य दशमलव २० प्रतिशतले घटाएको छ । संघले ३ महिनामाथिको निक्षेपको ब्याज दर शून्य दशमलव १५ प्रतिशत घटाउने निर्णय गरेको छ ।

फाइनान्स कम्पनीहरूले १ वर्षको मुद्दती निक्षेपमा १२ दशमलव १० प्रतिशत ब्याज दिँदै आएकामा १ चैतदेखि ११ दशमलव ९० प्रतिशत ब्याजदर कायम गरेका छन् ।
 

प्रकाशित मिति: मंगलबार, फागुन ३०, २०७९  १५:०६
प्रतिक्रिया दिनुहोस्