Nic Ad Nic Ad
Nic Ad Nic Ad

कास्कीको पूँजीगत खर्च १५ प्रतिशत मात्रै

मंगलबार, फागुन ३०, २०७९

पोखरा –कास्कीमा १५ प्रतिशत मात्रै पूँजीगत खर्च भएको छ । जिल्ला समन्वय समिति कास्कीको समीक्षा बैठकमा यो तथ्याङ्क सार्वजनिक गरिएको छ । 

आर्थिक वर्षको ५ महिना पुरा भएपछि पुँजीगत खर्च औषत केवल १५ प्रतिशत मात्रै भएको उल्लेख गर्दै कार्यसम्पादन स्तर सुधार गर्नुपर्ने जिल्ला समन्वय समिति कास्कीले औंल्याएको छ ।

पुँजीगत खर्च नहुँदा योजनाहरू प्रभावकारी नदेखिएको समेत गुनासो थियो । बैठकमा कास्कीका विभिन्न कार्यालयमा सञ्चालित योजना तथा विकास निर्माणका कार्यको समीक्षा गरिएको थियो ।  

‘आर्थिक वर्षको ५ महिनाभित्रमा केवल १५ प्रतिशत मात्रै पुँजीगत खर्च भएको छ,’ समीक्षा बैठकमा बोल्दै जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले भने, ‘कार्यसम्पादन स्तर सुधार्न आवश्यक निर्देशन गरेका छौं ।’ 

समन्वय समिति कास्कीका प्रमुख पौडेलले ३ वटै तहका सरकारका कामहरूको सहजीकरणका लागि आयोजना गरिएको भन्दै तीनै तहका सरकार र निकायहरू समयमा काम सम्पन्न गर्न आग्रह समेत गरे ।  

अर्धवार्षिकी समीक्षा गर्ने क्रममा पौडेलले निर्माणाधीन आयोजनाहरूमा गुणस्तरीयतामा समेत प्रश्न उठेको बताए । ‘निर्माणाधीन आयोजनाहरूको गुणस्तरमा समेत प्रश्न उठ्ने गरेको छ,’ पौडेलले भने, ‘गुणस्तरीयतामा कुनै कमजोरी नहुने गरी काम गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण हुनुपर्छ ।’ 

जिल्ला समन्वयका अधिकारी नवराज बरालले पुँजीगत खर्च कमजोर हँुदा विकासका कामसमेत प्रभावित भएको उल्लेख गरे । ‘समयमै विकास निर्माणका काममा लाग्न सबै स्थानीय तह र विभागीय कार्यालयहरूले ध्यान र चासो दिनुपर्छ’ समन्वय अधिकारी बरालले भने, ‘सरकारी कार्यालयले आफ्नो मातहतमा भएका योजनाहरू टुङ्ग्याउने तर्फ विशेष पहलकदमी गर्नुपर्छ ।’  

कास्कीका छनोट भएका कुल २२ वटा कार्यालय मध्ये २० वटाले आआफ्नो प्रस्तुति गरेका थिए । नेपाल विद्युत प्राधिकरण मालेपाटन र जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय बैठकमा अनुपस्थित थिए । 
 

प्रकाशित मिति: मंगलबार, फागुन ३०, २०७९  १५:५०
प्रतिक्रिया दिनुहोस्