सेवाप्रवाह र विकास योजनाबारे छलफल
बुटबल-बुटवल उपमहानगरपालिकाले सेवा प्रवाह तथा विकासबारे आगामी रणनीति तय गर्न विज्ञ तथा सरोकारवालासँग छलफल थालेको छ । उपमहानगरले क्षेत्रगत सुझाव सङ्कलन तथा समन्वयका लागि बुटवलभित्रका विभिन्न क्षेत्रका विज्ञ तथा सरोकारवालासँग सोमबारदेखि छलफल सुरु गरेको उपमहानगरप्रमुख खेलराज पाण्डेयले बताए ।
कानुन व्यवसायी, इञ्जिनीयर र चिकित्सकसँग छलफल गरिएकामा उनीहरूले बुटवलवासीको आवश्यकताअनुसार प्राथमिकता निर्धारण गरेर योजना निर्माण गर्न सुझाव दिएका थिए ।
सहभागी व्यक्तिहरूले सङ्घ, प्रदेश र स्थानीय सरकारका योजना दोहोरिएको र दोहोरो योजनाका कारण जनता अलमलमा परेकाले यस विषयमा स्थानीय सरकारका रुपमा समन्वयकारी भूमिका निर्वाह गर्न सुझाव दिएका थिए । उपमहानगर प्रमुख पाण्डेयले बुटवललाई साझा सहरका रूपमा अगाडि बढाउने प्रयास गरिरहेकाले सबै क्षेत्रका बुद्धिजीवीको रचनात्मक सुझावको अपेक्षा गरिएको बताए ।
‘हामी बुटवललाई साझा सहरका रूपमा देशकै अगुवा सहर बनाउन चाहन्छौं’ उनले भने, ‘बुद्धिजीवी र अनुभवी साथीको साथ तथा सहयोग जरुरी छ ।’ कार्यक्रममा कानुन व्यवसायी, इञ्जिनीयर र चिकित्सा क्षेत्रका व्यक्तिले आगामी नीति कार्यक्रम र बजेट निर्माणमा बुटवललाई व्यवस्थित सहरका रूपमा स्थापित गर्ने गरी योजना ल्याउन सुझाव दिएका थिए ।
बुधबार धार्मिक सङ्घ संस्थाका प्रमुखसँग र बिहीबार महिला स्वयम्सेविका र सामुदायिक वन र पार्कका अध्यक्षसँग छलफल गरिने उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले जानकारी दिए ।