बिवाइडीको तीन युनिट विद्युतीय गाडी आयल निगमलाई हस्तान्तरण
काठमाडौं–बिवाइडी अटो इन्डस्ट्री कम्पनी लिमिटेडको नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इन्क प्रालिले ३ युनिट अल–न्यु इसिक्स गाडी नेपाल आयल निगमलाई हस्तान्तरण गरेको छ । निगमको दिगोपना र वातावरणीय जिम्मेवारीको सोचअनुरूप यो गाडी खरिद प्रक्रिया अघि बढाएको हो ।
शून्य उत्सर्जन र कम सञ्चालन खर्च रहेका इसिक्स सवारीसाधन धेरै नै प्रभावकारी र वातावरणमैत्री रहेको कम्पनीले जनाएको छ । निगमका प्रोजेक्ट र आइटी डिपार्टमेन्टका डाइरेक्टर इन्जिनियर सुरज शाहले दिगोपनाका लागि प्रतिबद्घताअनुरूप विद्युतीय सवारीसाधनमा लगानी गरिएको बताए । विद्युतीय सवारीसाधन यातायातको भविष्य भएकोमा विश्वस्त रहेको र आउने दिनहरूमा सवारीसाधनलाई विद्युतीयमा रूपान्तरित गर्ने अवसरको खोजीमा रहेको उनको भनाइ थियो ।
यो सहकार्यले नेपालमा इलेक्ट्रिक सवारीसाधनको व्यापक प्रयोगका लागि उत्प्रेरकका रूपमा काम गर्ने र हरित, सफा भविष्यका लागि योगदान दिने उनको भनाइ थियो ।
कम्पनीले अल–न्यु इसिक्स नेपालमा सबैभन्दा लामो रेन्ज भएको विद्युतीय गाडी भएको दाबी गरेको छ । यो गाडी सिंगल चार्जमा ५२२ किलोमिटरसम्म यात्रा गर्न सक्ने जनाइएको छ । कम्पनीले विश्वभरि ३० लाख विद्युतीय गाडी बिक्री गरिसकेको जनाएको छ ।