Nic Ad Nic Ad
Nic Ad Nic Ad

१४ निर्माण व्यवसायीलाई कारबाहीको तयारी गर्दै भरतपुर महानगर

मंगलबार, फागुन ३०, २०७९

चितवन–भरतपुर महानगरपालिकाभित्र विकास निर्माणको जिम्मा लिएर समयमा काम नसक्ने १४ निर्माण व्यवसायीलाई कारबाहीको तयारी गरेको छ । 

महानगरपालिका भित्रका विभिन्न विकास निर्माणका जिम्मा लिएर काम सुरु नगर्ने, अलपत्र छाड्ने र काममा ढिलासुस्ती गर्ने उनीहरूलाई कारबाहीको प्रक्रिया सुरु गरिएको हो । महानगरपालिकाका इन्जिनियर सन्तोष आचार्यका अनुसार महानगरले यस वर्ष २ वटा निर्माण कम्पनीलाई कारबाहीका लागि सिफारिस गरी सकेको छ । 

ती कम्पनी कारबाहीमा समेत परिसकेका छन् । अन्य १४ वटालाई कारबाहीका लागि महानगरको कार्यपालिका बैठकले निर्णय गरिसकेको उनले बताए ।

उनले भने, ‘कार्यपालिका बैठकले कारबाहीका लागि सिफारिस गर्ने निर्णय गरिसकेको छ । कारबाहीका लागि सिफारिसको प्रक्रियासमेत सुरु भइसकेको छ ।’ समयमा काम सम्पन्न नगर्ने उनीहरूलाई चाँडै नै कारबाहीका लागि सिफारिस गर्न आवश्यक प्रक्रिया भइरहेको उनले भने ।

महानगरको सिफारिसपछि कारबाही गरिएकामा अनुष्ठा कन्ट्रक्सन प्रालि काठमाडौँ र जनकन्ट्रक्सन भरतपुर १९ रहेको उनले जानकारी दिए ।

सिफारिस गरिएका ती २ कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालय ताहाचलले कारबाही गरेको हो । कारबाहीको सिफारिस गरिएकालाई कामको प्रकृति हेरि १ वर्षदेखि ३ वर्षसम्म कालोसूचीमा राख्ने गरेको उनले बताए ।

जन कन्ट्रक्सनले बोलपत्र पाए पनि सम्झौता गर्न नआएकाले कारबाही गरिएको हो भने अनुष्ठानले तोकिएको समयमा २ वटा काम नगरेकाले कारबाहीमा परेको हो । कालोसूचीमा परेका निर्माण व्यवसायीले राखिएको सूचीअनुसार १ देखि ३ वर्षसम्म देशभर विकास निर्माणको काममा ठेक्का सम्झौता गर्न नपाउने, बाँकी रहेको कामको समेत चलन चल्तिको मूल्यमा असुलउपर गराउने उनले बताए ।

असुलउपरका लागि तहशिल कार्यालयले सरकारी सम्पत्तिसरह गर्ने गरेको उनको भनाइ छ ।

भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले ठेक्का सम्झौता गरी काममा ढिलासुस्ती गर्ने निर्माण व्यवसायीलाई कारबाहीको प्रक्रिया सुरु गरिएको बताए ।

२ चरणमा गरी अहिले सिफारिस गर्न लागिएको बताउँदै उनले अन्यको विषयमा समेत छलफल भइरहेको बताए ।

समयमा काम सम्पन्न गर्नेलाई पुरस्कृत र काममा ढिला गर्नेलाई दण्ड जरिवानाको पद्धति बसाल्न महानगरले आफ्नो काम सुरु गरेको उनको भनाइ छ । उने भने, ‘समयमा काम नगर्नेलाई कारबाही र समयमा काम सम्पन्न गर्नेलाई सम्मान गर्ने गरी हामी लागेका छौँ ।’ निर्माण व्यवसायी कम्पनीलाई कुनै पनि बाहनामा कामममा ढिलासुस्ती गर्न छुट नभएको उनको भनाइ छ ।
 

प्रकाशित मिति: मंगलबार, फागुन ३०, २०७९  १८:०२
प्रतिक्रिया दिनुहोस्