Nic Ad Nic Ad
Nic Ad Nic Ad

गगन थापाको टिप्पणी– कांग्रेस भित्रैबाट विपीमाथि अन्याय भयो

मंगलबार, फागुन ३०, २०७९

काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी भित्रैबाट विपी कोइरालामाथि अन्याय भइरहेको टिप्पणी गरेका छन् । आजको समस्या समाधान गर्न पनि विपी कोइरालाले नै भनिदिएको हुनुपर्ने अवस्था पार्टी भित्र रहनु विपीमाथि नै कांग्रेसले अन्याय गर्नु रहेको उनको तर्क थियो । 

नेपाल ट्रेड युनियन कांग्रेसको मंगलबारबाट काठमाडौंमा सुरु भएको नीति अधिवेशनमा बोल्दै महामन्त्री थापाले नेपालमा सृजना भएका रोजगारीमा नेपालीहरुले काम नपाउने चुनौति आज रहेको र त्यसको समाधान विपी कोइरालाको भनाईलाई खोजेर गर्न नसकिने स्पष्ट पारे ।

उनले हाम्रो भागको समस्याको समाधान हामी आफैंले गर्नुपर्ने भन्दै त्यसमा लाग्न पनि ट्रेड युनियन कांग्रेसका पदाधिकारीहरुलाई सचेत गराए । 

‘रोजगारी सृजना हुन्छ । तर नेपालीले पाउँदैनन् त्यसमा काम । आज के, कति कारणले नेपाली कामदारहरु काम लागि रहेका छैनन् ? सानो गार्मेन्ट खोल्ने मान्छेलाई हामीले कुरा गर्न गयो भने के, कति कारणले गर्दा होला उसले पनि नियतबस नेपालीलाई कामै दिन्न भनेको त होइन होला,' महामन्त्री थापाले भने, 'तर के, कति कारणले नेपाली कामदारहरु काम लागि रहेको छैन ? आजको च्यालेन्ज यस्तो आएको छ । यस्तो बेलामा पनि हामीले पुरानो विपी कोइरालाले यसको बारेमा केही केही बोलिदिनु भएको थियो कि, भनिदिनु भएको थियो कि भनेर त्यहाँ खोज्न जानु भनेको त विपीमाथि अन्याय गर्नु हो नि त । के त्यो भन्नु भएको रहेनछ भन्नु भनेको त अन्याय गर्नु हो नि ।’

महामन्त्री थापाले विपी कोइराला कांग्रेसका लागि मूल विचारधाराको स्रोत भएपनि आजको चुनौति हामी आफैंले समाधान गरेर अघि बढनुपर्ने बताए ।

उनले पार्टी भित्र विचार निर्माणको सवालमा खुलेर बहस गर्नुपर्ने बेला आएको पनि बताए । त्यसका लागि आफूले केही वैचारिक छलफल चलाउन खोजेको तर त्यसमा पार्टी भित्रैबाट साथ नपाएको महामन्त्री थापाको गुनासो थियो ।

उनले वैदेशिक रोजगारीमा जान दिने अनि त्यसो गर्नु गलत छ भनेर मुलुकलाई अघि बढाउन नसकिने बताए ।

प्रकाशित मिति: मंगलबार, फागुन ३०, २०७९  १८:४५
प्रतिक्रिया दिनुहोस्