सुनसरी, भोजपुर र दाङमा भएको दुर्घटनामा ३ जनाको मृत्यु
काठमाडौं । देशका विभिन्न स्थानहरूमा भएको सवारी दुर्घटनाहरुमा ३ जनाको मृत्यु भएको छ ।
गुडिरहेको मोटरसाइकलबाट खसेर सुनसरीको बर्जु गाउँपालिका–२, ढट्टाटोलमा एक महिलाको मृत्यु भएको छ ।
बर्जु–३ की ३६ वर्षीया चन्द्रकलादेवी राय को७प ५६५ नम्बरको मोटरसाइकलबाट खसेर गम्भीर घाइते भएकी थिइन् । उनी गुडिरहेको मोटरसाइकलमा पछाडि सवार थिइन् । उनलाई अस्पताल पु¥याउनासाथ चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ ।
मोटरसाइकलका चालक एवं मृतक महिलाका श्रीमान्लाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस्तै, भोजपुरको रामप्रसाददराई गाउँपालिका–५, लुगेनी भौडीमा ट्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । सोही स्थानका १८ वर्षीय भीमबहादुर तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ना३त ३४५९ नम्बरको ट्याक्टर सडकदेखि अन्दाजी १५० मिटर तल खसेको अस्थायी प्रहरीचौकी मानेभञ्ज्याङले जनाएको छ ।
यस्तै, दाङको लमही नगरपालिका–९, रिहारमा ट्याक्टरको ट्रलीबाट खसेर एकजनाको मृत्यु भएको छ ।
सोही ठाउँका २० वर्षीय करण वर्मा रा७त २२८६ नम्बरको ट्याक्टरको ट्रलीबाट खसेर गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा लमही अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।